काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही क्षेत्र नम्बर २ मा धाँधली गरेर जितेको दाबीसहित सर्वोच्चमा मुद्दा दायर भएको छ । एमालेका पौडेल २७ हजार १ सय ६५ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
यहाँ निकटतम प्रतिद्वन्द्वी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७ सय ९५ मत ल्याएका थिए । मतगणना स्थलमा आफूलाई जानसमेत नदिई धाँधली गरेर पौडेललाई जिताइएको दाबी गर्दै गणेशले सर्वोच्चमा मुद्दा दिएका हुन् ।
साथै उता धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजयी भएका थिए । यादवले २० हजार १ सय १२ मत ल्याएका थिए । त्यहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर अरगरियाले १९ हजार ९ सय ५५ मत ल्याएका थिए ।
यो क्षेत्रमा पनि धाँधली गरेर कांग्रेसका यादवलाई जिताएको दाबीसहित एमालेका अरगरियाले सर्वोच्चमा मुद्दा दिएका छन् । दुवै रिट मंगलबार सर्वोच्चमा दर्ता भएका थिए । यी मुद्दा संवैधानिक इजलासले हेर्ने सर्वोच्च स्रोतले जानकारी दिएको छ ।