काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने तर्फको परिणाम आइसकेको छ। साथै समानुपातिकतर्फको मतगणना पनि मंगलबार सकिएको छ। अब निर्वाचन आयोगले समानुपातिक प्रणाली अनुसार प्रतिनिधिसभा र प्रदेश सभाका लागि सांसद छान्न पर्ने हुन्छ ।
निर्वाचन आयोगले आउँदो शुक्रबारसम्म प्रत्यक्ष र समानुपातिक मतगणनाको विवरण राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउँदैछ । संघीय संसद्को प्रतिनिधि सभामा विभिन्न समूहको प्रतिनिधित्व हुनेगरी ११० सिट निर्धारण गरिएको छ। थ्रेसहोल्ड पार गरेका दलले पाएको समानुपातिकको मत अनुसार निर्वाचित सिट निकालिन्छ। यसपछि समानुपातिक तर्फको विजयी सिट निकाल्न सेन्ट लग विधि प्रयोग गरिन्छ।
समानुपातिक मतमा सदर मतको ३ प्रतिशत ल्याउने पार्टीलाई मात्रै सांसद चयनको सूचीमा समेटिनेछ । मतपरिणाम आएसँगै निर्वाचन आयोगले थ्रेस होल्ड कटाउने राजनीतिक दलहरुलाई ३ दिनभित्र सांसदको सूची बुझाउन अनुरोध गरिसकेको छ ।
कसरी गरिन्छ त छनौट ?
यसको लागि १ देखि बढेको ११० वटा बिजोर भाजक निकालिन्छ । यी सबै बिजोर भाजकले समानुपातिक तर्फको निर्वाचन प्रक्रियामा योग्य (थ्रेस होल्ड काटेका) दलले पाएको मतलाई भाज्य मान्दै भाग गर्छ।
१ टेबलमा सबै दलको भाज्य अंकलाई भाग गर्दै जाँदा विभिन्न भागफल निस्कँदै जान्छ। यसरी निस्केको भागफलको ठूलो अंक निर्वाचित सिट हो।
यो भनेको १ देखि ११० वटा बिजोर भाजक २१९ सम्म हुन्छ। दलले प्राप्त गरेको सबै मत परिणामलाई २१९ सम्मले भाग गर्दा फरक–फरक भागफल आउँछ। प्रत्येक बिजोर अंकले भाग गर्दा त्यो महलमा प्राप्त भागफलमध्ये जुन दलको भागफल बढी हुन्छ त्यो निर्वाचित सिट हुन्छ।
यो भनेको पहिलो ठूलो भागफल दोस्रो ठूलो भागफल गर्दै क्रमसः ११० वटा ठूलो भागफल निस्कँदै जान्छ ति सबै निर्वाचित सिट हुन्। यसरी निस्कने भागफल सबै महलमा एकै दलको नहुन सक्छ। जसको जसको भागफल हो त्यो अनुसार दलले जितेको सिट मान्दै जोडिन्छ, अनि दलको कूल विजयी सिट निस्कन्छ।
यो क्रम ११० वटा सिट निर्वाचित नहुन्जेल जारी रहन्छ। स्वभावतः दलले प्राप्त गरेको मत परिणाम अनुसार सिट निर्वाचित हुन्छन्। यो भनेको धेरै मत धेरै सिट, थोरै मत थोरै सिट पनि हो। यसरी दलले समानुपातिक निर्वाचनमा विजयी सिट प्राप्त गर्दछन्।
क्लस्टर विभाजन प्रक्रिया
समानुपातिक निर्वाचनमा विजयी सिट निस्केपछि दलले क्लस्टरभित्र प्राथमिकता क्रमका रहेका उम्मेदवार निर्वाचित सिफारिस गर्दछन्। यसरी सिफारिस गर्दा त्यो दलको राष्ट्रिय सभामा रहेका र प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित भएका सांसदको संख्याले कुन क्लस्टरमा कति निर्वाचन गर्ने निर्धारण हुन्छ।
तर संविधानमा भएको व्यवस्था अनुसार दलित १३.८%, आदिवासी जनजाति २८.७%, मधेशी १५.३%, थारु ६.६%, मुस्लिम ४.४% र खस आर्य ३१.२% निर्वाचित भएको हुनुपर्छ। यी सबै क्लस्टरमा ५०% महिला अनिवार्य निर्वाचित गराउनुपर्ने हुन्छ।
यसका साथै समानुपातिक निर्वाचनमा पिछडिएको क्षेत्रबाट र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ। समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन कम्तिमा ११ जनाको सूची बुझाएको हुनुपर्छ। यसरी सबै दलले क्लस्टर मिलाएर ११० जनाको सूची निर्वाचन आयोगमा पेस गरेका हुन्छन्। अब कुनै दलले ११ जनाको समानुपातिकतर्फ विजयी सिट पायो भने क्लस्टर अनुसार कसरी निर्वाचित गराउँछ त? ११ जनामा सबैको प्रतिशत अनुसार विभाजन गर्दा आदिवासी जनजाति ३ जना, खस आर्य ३ जना, थारु १ जना, दलित २ जना, मधेसी २ जना गरी ११ जना निर्वाचित हुन्छन्।