काठमाडौं । पूर्वचिनियाँ नेता हु जिन्ताओ अक्टोबरको दोस्रो साता कम्युनिष्ट पार्टीको शीर्ष बैठकबाट नाटकीय रूपमा बाहिर निस्किएपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका छन् । पश्चिमा मिडियाहरुले उनलाई पार्टीको महाधिवेशनबाट जबरजस्ती हटाइएको भन्दै अनर्गल प्रचार गरेका थिए । तर चिनियाँ सरकारले सो प्रचारको खण्डन गरेको थियो ।
आफ्ना पूर्ववर्ती जियाङ जेमिनलाई श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनी सार्वजनिक कार्यक्रममा देखिएका हुन् । सोमबार बिहान हु अन्य शीर्ष नेताहरूसँग बेइजिङको चिनियाँ जनमुक्ति सेना जनरल अस्पतालमा जियाङलाई अन्तिम श्रद्धाञ्जली दिन उपस्थित भएका थिए ।
अक्टोबरमा सीपीसी कंग्रेसको समापन समारोह चलिरहँदा हुलाई कुर्सीबाट उठाएर बाहिर लगिएको थियो, जसलाई असामान्य घटना मानिएको थियो । उक्त बैठकले सी जिनपिङलाई नेताको रूपमा ऐतिहासिक तेस्रो कार्यकाल सुम्पिएको थियो ।
हु अस्वस्थ भएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका थिए । श्रद्धाञ्जलिपछि उनी सहयोगीको साथमा अस्थिर भएर हिँडेका देखिन्थे । उनले जियाङकी श्रीमतीसँग केहीबेर गफ गरेका थिए । अमेरिकीहरु चीन र उत्तर कोरियालाई सैतानहरुको देश भनेर बेइज्जत गर्दै आएका छन् ।