काठमाडौं । भर्खरै देशभर एकै चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कर्णाली प्रदेशबाट महिला उम्मेदवारको संसद् यात्रामा विराम लागेको छ । सोही प्रदेशका १२ वटा निर्वाचन क्षेत्रअन्तर्गत प्रतिनिधिसभातर्फ ५ जना महिला उम्मेदवार पराजित भएसँगै उनीहरूको संसद् यात्रामा विराम लागेको हो ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट उम्मेदवार बनेकी तुल्छी खड्का पराजित भएकी छिन् । उनले सोही क्षेत्रबाट कूल २७८ मत प्राप्त गरि पराजित भएकी हुन् ।
यस क्षेत्रबाट पूर्वमन्त्रीसमेत रहेका गठबन्धनका साझा तथा नेपाली कांग्रेसका उम्मेदवार ह्रृदयराम थानी विजयी भएका छन् । उनले ३४ हजार ६२५ मत प्राप्त गरि विजयी भएका हुन् ।
यस क्षेत्रबाट नेमकिपाले बाहेक अन्य दलले महिला उम्मेदवार खडा गरेका थिएनन् भने क्षेत्र नम्बर–१ बाट कुनै दलले महिला उम्मेदवार खडा गरेनन् ।
त्यस्तै दैलेख निर्वाचन क्षेत्र नम्बर–१ बाट कुन्तीकुमारी शाही पनि पराजित भएकी छिन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेकी थिइन् । शाहीले ४ हजार ६१२ मत प्राप्त गरि पराजित भएकी हुन् ।
यस निर्वाचन क्षेत्रबाट सत्ता गठबन्धनका साझा तथा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट उम्मेदवार बनेका अम्मरबहादुर थापा विजयी भएका छन् । उनले १८ हजार २९७ मत प्राप्त गरि विजयी भएका हुन् । यस क्षेत्रबाट राप्रपाले बाहेक अन्य दलले महिला उम्मेदवार सिफारिस गरेका थिएनन् भने दैलेख क्षेत्र नम्बर–२ बाट कुनै दलले उम्मेदवार सिफारिस गरेनन् ।
त्यसैगरी जाजरकोट, रुकुम पश्चिम, सल्यान, हुम्ला, कालिकोट, डोल्पा र मुगुमा पनि कुनै राजनीतिक दलले महिला उम्मेदवार सिफारिस गरेनन् । यी जिल्लामा दलले पुरुष उम्मेदवार मात्रै खडा गरेका थिए ।
जुम्ला निर्वाचन क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनकी साझा तथा नेकपा (माओवादी केन्द्र)ले महिला उम्मेदवार गोमा गौतम कुँवरलाई खडा गरेको थियो । तथापि उनले यस क्षेत्रबाट ११ हजार ९४९ मत प्राप्त गरि पराजित भइन् । यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र विजय भए । उनले २२ हजार ८१९ मत प्राप्त गरि विजयी भएका हुन् ।
कर्णाली प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमा राजनीतिक दलले महिलालाई उपेक्षा गरेको पाइन्छ । महिलाको पक्षमा संसददेखि सडकमा लगाइने नारा केवल नारामा मात्रै सिमित भएका छन् । राजनीतिमा महिलाको भूमिका अहम् रहँदै आए पनि दलले उपेक्षा गर्नुले महिलाको हक र अधिकारमाथि धावा बोलेको प्रष्ट देख्न सकिन्छ ।
१२ वटा निर्वाचन क्षेत्रमा जम्मा ५ जना मात्रै महिला उम्मेदवार खडा गर्नुमा दलले महिलामाथि उपेक्षा गरेको पाइन्छ । राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहने नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी)ले कर्णालीमा महिलामाथि अन्याय गरेको बुझिन्छ ।
जाजरकोट, रुकुम पश्चिम, सल्यान, हुम्ला, कालिकोट, डोल्पा र मुगु यी ७ जिल्लामा महिलाले निर्वाचनमा भाग लिन नपाउनु आफैमा आश्चर्यको विषय बनेको छ । महिला उम्मेदवार बनेकाहरूको मतपरिणाम निराशाजनक आउनुले पनि दलले सिफारिस गरेका होइनन् कि ?