• बैशाख २८ २०८३, सोमबार

एमालेको नेतृत्वमा वामपन्थीहरुको सरकार बनाउनु पर्दछ : पृथ्वीसुब्बा गुरुङ

मंसिर १६ २०७९, शुक्रबार

काठमाडौं । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनलाई तोड्दै वामपन्थी शक्तिहरूलाई एकजुट बनाएर एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उनको भनाइ छ ।

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा आफूलाई बधाई दिन प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताए ।

मुलुकमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, मुलुकको स्वाधीनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उनको जिकिर थियो ।

उनले संघ र सातवटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दावी समेत गरे तर, त्यसका लागि पार्टीले दिनरात खटेर पहलकदमी लिनुपर्ने आवश्यकता उनले औंल्याए ।

उपमहासचिव गुरुङले भने, ‘म फेरि पनि भन्छु–एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नुपर्छ । अहिले जोडतोडले दुष्प्रचारबीच भइराखेको छ, कुप्रचार भएको छ कि अब शेरबहादुर नै प्रधानमन्त्री भनिराख्या छ । प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो । तर हामीले सकारात्मक सोंच भएका शक्तिहरूबीच सरकार बनाउनु पर्छ । यो दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने मुलुकमाथि आइरहेका जोखिमका कुराहरू, राष्ट्रिय स्वाधीनतामाथि धावा बोलिरहेको जुन स्थिति हो, यसको हामीले अन्त्य गर्न सक्दैनौँ ।’