मंसिर ४ गते भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । निर्वाचन परिणामलाई नियाल्दा कुनैपनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन । नेपाली काँग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरूको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ ।
संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरु निष्क्रिय भइसकेको बताए । उनले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन सुरु भएपछि सोही अवस्थाबाट सुरु हुने बताए ।
राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरु भने निष्क्रिय भइसकेको बताए । उनले यदि सरकारले तिनै विधेयकहरू ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनु पर्ने र ति विधेयकहरुको पुनः नयाँ प्रक्रिया (जिरोबाट) शुरु हुने बताए ।