• बैशाख २८ २०८३, सोमबार

पर्यटनमन्त्री जीवनराम श्रेष्ठ नेताका धार्मिक प्रतिष्ठानलाई सिधै १ करोड २५ लाखसम्म बाँड्ने तयारीमा

मंसिर १४ २०७९, बुधबार

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट पराजित भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले मन्त्री पदबाट हट्नुअघि एउटा मापदण्ड तयार गरेर पैसा बाँड्ने तयारी गरेका छन् । राजनीतिक दलका नेताको नाममा खुलेका प्रतिष्ठानलाई रकम बाँड्ने योजनाका साथ उनले सचिवलाई दबाब दिएको मन्त्रालय स्रोतले जनायो ।

चुनावमा पराजित भएपछि मन्त्री पद छोड्नुअघि राजनीतिक दलका प्रतिष्ठानलाई लाभ हुने गरेर श्रेष्ठले सचिवस्तरीय निर्णय गराएर पैसा बाँड्न लागेको स्रोतले जनायो । चुनावमा पराजित भएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला उनले मन्त्रालयका सचिव सुरेश अधिकारीलाई छिटो प्रक्रिया अगाडि बढाउन दबाब दिएका छन् । मन्त्रीले दबाब दिएपनि सचिवभने विपक्षमा उभिएको एक अधिकारीले बताए ।

प्रतिष्ठान वा संस्थाहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी मापदण्ड २०७९ तयार पारिएको छ । मन्त्रालयले निर्माण गरेको मापदण्डको प्रस्तावनामा ‘नेपालको राजनैतिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरू, राष्ट्रिय विभूतिहरू, सहिदहरूको नाममा स्थापना भएका प्रतिष्ठान वा संस्था लगायतलाई आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यवस्था गरिए अनुरुप अनुदान उपलब्ध गराउनका लागि मापदण्ड बनाउन आवश्यक भएकोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देहायको मापदण्ड बनाएको छ ।

मापदण्डमा अनुदान प्राप्त गर्ने प्रयोजनका लागि प्रतिष्ठान वा संस्थाको वर्गीकरण चार क्षेत्रमा गरिएको छ। मापदण्डको दफा ४ मा रकम वितरणको कुरा खुलाइएको छ। ‘दफा २ बमोजिमको प्राथमिकता अनुसारका प्रतिष्ठान वा संस्थाहरूलाई देहायका दरले सम्बन्धित स्थानीय तहमार्फत् अनुदान रकम उपलब्ध गराइनेछ’, उक्त दफामा भनिएको छ।

उक्त दफामा पहिलो नम्बरमा रहेको प्रतिष्ठान वा संस्थाहरूलाई १ करोड २५ लाख उपलब्ध गराउने भनिएको छ। १ करोड २५ लाख प्राप्त गर्नेमा राजनीतिक र ऐतिहासिक क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट राजनेताहरूको नाममा स्थापित प्रतिष्ठान हुने छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिष्ठान, मदन भण्डारी फाउन्डेसन, जीपी कोइराला फाउन्डेसन जस्ता निकायहरू यो श्रेणीमा पर्ने देखिन्छ। दोस्रो नम्बरमा पर्ने प्रतिष्ठान वा संस्थाहरूलाई ७० लाख वितरण गर्ने भनिएको छ। ७० लाख प्राप्त गर्न राजनैतिक व्यक्तित्वहरूको नाममा स्थापित प्रतिष्ठान, विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूको नाममा स्थापित प्रतिष्ठान/संस्थाहरू हुनुपर्ने मापदण्डमा उल्लेख छ।

तेस्रो तहमा पच्चिस लाख वितरण गर्ने भनिएको छ। २५ लाखसम्म प्राप्त गर्नेमा विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिको नाममा स्थापित संघ संस्थाहरू हुने मापदण्डमा उल्लेख छ। मन्त्रालयले निर्माण गरेको अन्तिम मापदण्डमा १० लाख र ५ लाख वितरणको कुरा समेटिएको छ। १० लाख र ५ लाख पाउनेमा अन्य धार्मिक, सांस्कृतिक र सामाजिक संस्था भनि मापदण्डमा वर्गीकरण गरिएको छ।

नेपालको राजनीतिक र ऐतिहासिक क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट राजनेताहरूको नाममा स्थापित प्रतिष्ठानहरू, राजनैतिक व्यक्तित्वहरूको नाममा स्थापित प्रतिष्ठानहरू, विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूको नाममा स्थापित प्रतिष्ठान/संस्थाहरू हुनुपर्ने मापदण्डमा उल्लेख छ।

त्यस्तै, विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिको नाममा स्थापित संघ, संस्थाहरू र अन्य धार्मिक, सांस्कृतिक र सामाजिक संस्थाहरूलाई यस्तो रकम दिइने मापदण्डमा उल्लेख छ।

मन्त्रालयमार्फत् उपलब्ध गराउन प्रतिष्ठान र संस्थालाई उपलब्ध गराइने रकम सम्बन्धित स्थानीय तहहरूमा एकमुष्ठ पठाउने मापदण्डमा उल्लेख गरिएको छ। अनुदान रकम पुँजीगत र चालु कार्यक्रममा खर्च गर्नेगरि दिइने र उक्त रकम अर्थ मन्त्रालयको खर्च शीर्षक वर्गीकरण अनुसार गर्ने जनाइएको छ।