काठमाडौं। नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई पछि पादै नेकपा एमालेकी भगवती चौधरी सुनसरी-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।
मंगलबार साँझ सकिएको मतगणनामा भगवतीले गच्छदारलाई ५ हजार बढी मतान्तरले हराएकी हुन्। अन्तिम मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।
सुनसरी-३ को निर्वाचित जनप्रतिनिधि बनेर सिंहदरबार प्रवेश गर्न निरन्तर प्रयास गरिरहेकी ५१ वर्षीया चौधरी तेस्रो पटकमा लक्ष्य हासिल गर्न सफल भएकी छन्। विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गर्दा अनेरास्ववियुमा २०४८ सालमा संगठित बनेकी भगवती अहिले एमाले केन्द्रीय सदस्य पनि हुन्।
उनले २०५१ सालमा ‘फरवार्ड एनजिओ’ स्थापना गरेर विभिन्न शैक्षिक तथा सामाजिक काममा हात हालेकी थिइन्। त्यही एनजिओलाई २०५९ मा लघुवित्तमा रूपान्तरण गरेकी उनले त्यही सालबाट सक्रिय राजनीतिमा पूरा समय दिन थालेकी थिइन्।
२०६४ को पहिलो संविधान सभामा समानुपातिक सदस्यका रूपमा संविधान सभा प्रवेश गरेकी उनी एकपटक वन राज्यमन्त्री पनि भएकी थिइन्।