• जेष्ठ ६ २०८३, बुधबार

विवाह पञ्चमी : सत्संग कथा प्रवचन सम्पन्न

मंसिर १३ २०७९, मंगलवार

ललितपुर, मंसिर १३ । राम जानकीको विवाह महोत्सवको संस्मरण गर्दै ललितपुरको ढुंगेधारा संरक्षण समिति अनन्तधाराधाममा एक कार्यक्रमका बीच वृहत् सत्संग समारोह सम्पन्न भएको छ ।

धार्मिक गुरु ज्यो पं श्रीअच्युतप्रसाद पौडेल ‘चिन्तन’को प्रमुख आतिथ्यमा भएको सो समारोहमा सत्संग कथा वाचनमा विष्णु पुराण, स्कन्द पुराण र अध्यात्म रामायणको सार चर्चा गरिएको थियो ।

सो अवसरमा माता सीताको विवाह उत्सव भगवान श्रीरामसँग भएको प्रसंग रोचक प्रस्तुति भएको थियो । मिथिलाको चर्चा गर्दै मिथिलाको ‘म’ कारले विश्वको सिर्जना, ‘थ’ कारले परिपालना र ‘ल’ कारले संसारको संहार बारे अध्यात्मको जीवन र जगत बारेको विश्लेषण गरिएको थियो ।

कार्यक्रममा धर्म साधनामा सम्बद्ध समितिका सदस्य परिवार, स्थानीय भक्तजन, कार्यक्रम संयोजक मुरारी सुवेदी, धार्मिक पुस्तकका लेखक मधुसूदन सुवेदी एवं टाढाबाट तुलसीराम पुडासैनीको समेत उपस्थिति देखिन्थ्यो भने संगीतमय सो कार्यक्रममा राम–जानकीको डोला महोत्सव, भजन कीर्तन भएको थियो ।