• जेष्ठ ६ २०८३, बुधबार

थापाथली झडपका घाइतेहरुलाई भेट्न नर्भिक पुगे बालेन र सुनिता

मंसिर १२ २०७९, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सोमबार साँझ नर्भिक अस्पतालमा पुगेका छन् ।

थापाथलीको सुकुम्बासी बस्तीका घर टहरा भत्काउने क्रममा झडप हुँदा घाइते भई उपचार गराइरहेका महानगरका प्रहरीहरूको स्वास्थ्य अवस्था बुझ्न मेयर शाह र उपमेयर डंगोल छुट्टाछुट्टै समयमा नर्भिक पुगेका हुन् ।

सुरुमा साँझ करिब ७ः ४० बजेतिर पुगेका बालेन्द्र साहले त्यहाँ उपचाररत घाइतेहरूको अवस्थाको विषयमा चिकित्सकसँग ब्रिफिङ लिएका थिए । सो क्रममा नर्भिक अस्पतालका इमर्जेन्सी इन्चार्ज तथा डेपुटी मेडिकल डाइरेक्टर डा.ओमर प्रधानले घाइतेमध्ये ३ जनाको टाउकोमा गहिरो चोट रहेका कारण अब्जरभेसनमा राखिएको बताएका थिए ।

नर्भिकले ३४ जना घाइतेहरूको छोटो अवधिमै उपचार व्यवस्थापन कसरी मिलाउनुभयो भनेर बालेनले डा. प्रधानसँग चासो राखेका थिए ।

उनले नर्भिकको इमेरजेन्सीको मूल विशेषता भनेकै आकस्मिक अवस्थामा घाइते तथा बिरामीहरूको सही व्यवस्थापन गर्ने रहेको, घाइतेहरूको अवस्थाको आधारमा रेड, ग्रीन र एलो जोनमा उनीहरूलाई राखेर सोहीअनुसारको उपचार प्राथमिकतामा आधारमा दिइने गरिएको र आज पनि त्यसै गरिएका कारण ३ घण्टाको अवधिमा ३४ जनामध्ये ३१ घाइतेलाई उपचार गरी घर फर्काउन सम्भव भएको बताएका थिए ।

मेयर साहले नर्भिकमा गम्भीर चोट लागेर उपचार गराइरहेका आफ्ना ३ नगर प्रहरी र उनका परिवारजनसँग पनि स्वास्थ्य अवस्थाको विषयमा कुराकानी गरेका थिए । करिब ३ मिनेट जति अस्पताल बसेर मेयर साह फर्किएका थिए ।

उनी फर्किएको केहीबेरमै उपमेयर सुनिता डंगोल पनि अस्पताल पुगेकी थिइन् । उनले पनि नगर प्रहरीको स्वास्थ्य अवस्थाको विषयमा बुझेकी थिइन् ।

सो क्रममा उनले नर्भिकको उपचार पद्धति तथा आकस्मिक अवस्थामा गरेको कुशल व्यवस्थापनको खुलेरै प्रशंसा गरेकी थिइन् । उनले सो क्रममा नर्भिकको टिमलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।