• फाल्गुन २७ २०८२, बुधबार

चित्रकारको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्डको सजाय सुनाइयो

मंसिर ९ २०७९, शुक्रबार

काठमाडौं । अल्जेरियाको एक अदालतले एकजना चित्रकारको क्रुर ढङ्गले गरिएको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष देशको उत्तरपूर्वी क्षेत्र काबिलीको जङ्गलमा आगो लगाएको आरोपमा एक सय जनाभन्दा बढीको भीडले चित्रकारको हत्या गरेको थियो ।

अधिकारीहरूका अनुसार वनमा डढेलो निभाउन गएका सैनिकसहित ९० जनाको ज्यान गएपछि स्थानीयले चित्रकार जामेल बेन इस्माइलको क्रुरतापूर्वक हत्या गरेका थिए । एकजना पुरूष र तीनजना महिलाले उनको शवलाई काटेर टुक्राटुक्रा पारेर अन्तिममा जलाएका थिए ।

ती कलाकारले आफू आगो निभाउन जङ्गलमा जान लागेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । स्थानीयले जामेललाई आफ्नो क्षेत्रमा कहिल्यै नदेखेको तथा निजले नै वनमा आगो लगाएको आशङ्कामा उनलाई मारेका थिए ।

चित्रकार जामेलको हत्यामा एक सय जनाभन्दा बढी संलग्न रहेका थिए तर मुद्दा दर्ताका बखत सबैलाई विपक्षी बनाइएको थिएन । मृत्युदण्डको सजाय सुनाइएकालाई आजीवन कारावासको दण्ड हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

अल्जेरियाले मृत्युदण्डमा रोक लगाएकाले त्यो कारावासको सजायमा रुपान्तरण हुनसक्ने छ । केहीलाई केही वर्षको सजाय सुनाइएको छ भने ३८ जनालाई दुईदेखि १२ वर्षसम्मको जेल सजाय तोकिएको छ ।