काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुला गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको आवेदन फारम खुला गरेको हो । पुषको १० गतेभित्र फारम भरि सक्नुपर्नेछ ।
साधारण, प्राविधिक धारसहित माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि परीक्षा आवेदन खुला गरेको हो ।
शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थीले पुष १० गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने बोर्डले जनाएको छ ।
बोर्डले आफ्ना सम्पूर्ण शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश तथा शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय एकाई, स्थानीय तहका शिक्षा शाखा, विद्यालय तथा विद्यार्थीलाई निर्धारित समयमा परीक्षा आवेदन फारम भर्न भराउन समन्वय गर्नको लागि निर्देशन समेत दिएको छ ।