• बैशाख २७ २०८३, आईतवार

‘लो प्रोफाइल’ भएकाहरूबाटै एमालेका ‘हाई प्रोफाइल’ नेताहरू पराजयको सिकार

मंसिर ८ २०७९, बिहीबार

काठमाडौं । पाँच दिनअघि देशैभर एकै चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले)का ‘हाई प्रोफाइल’ नेताहरू ‘लो प्रोफाइल’ भएकाबाटै पराजयको सिकार बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र अर्थात् पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत महेश बस्नेतसमेत यसपटकको निर्वाचनमा पराजयको सिकार बनेका हुन् ।

काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर–५ मा एमालेको विराशत जोगाउँदै आएका वरिष्ठ उपाध्यक्ष पोखरेल यसपटक नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित भएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पहिलोपटक भाग लिएका कांग्रेस नेता पौडेलले पोखरेललाई पराजित गरेका हुन् । पौडेलले ५ हजार ९८ मतान्तरले पोखरेललाई पराजित गरेका छन् ।

पौडेल भन्छन्, ‘काठमाण्डौं–५ का जनता कोहीँ–कसैका नभई स्वतन्त्र निर्णय गर्नसक्ने क्षमताका भएको र मतदाताले कांग्रेसका उम्मेदवारको पनि क्षमता मिल्ने भएकाले आफूलाई जीत निकाल्न सहज भएको हो ।’

यस क्षेत्रलाई आफ्नो विराशत मान्दै आएका पोखरेल पटक–पटक सत्तामा बसेर देश र नागरिक प्रतिकूल र आफू अनुकुल हुने काम गरेको आरोप खेप्दै आएका थिए । पार्टीको दोस्रो बरियतामा रहेका पोखरेल ओली पछिको उत्तराधिकारीको रूपमा चिनिन्छन् ।

त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले पनि पराजय भोग्नु परेको छ । उनी दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट पराजित भएका हुन् । पार्टीको शीर्षस्थ तहको जिम्मेवारी सम्हाल्दै आएका पोखरेललाई सत्ता गठबन्धनकी साझा तथा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेखा शर्माले पराजित गरिन् । शर्माले २६ हजार आठ सय ७७ मत प्राप्त गर्दा पोखरेलले २६ हजार छ सय ८० मत पाए । माओवादी केन्द्रकी शर्मा र एमाले पोखरेलबीचको एक सय ९७ मतान्तर थियो ।

पूर्व सञ्चारमन्त्री एवम् पूर्व मुख्यमनत्री समेत भइसकेका पोखरेल अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन् । उनले सत्ता, शक्ति र पार्टीभित्रै अनेकन् अवसर पाउँदै आएका थिए । उनको पराजयले ओलीलाई सत्ता यात्रामा थप चुनौती थपिएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् ।

त्यसैगरी अर्का एमालेका युवा नेता तथा अध्यक्ष ओलीका विश्वासपात्र महेश बस्नेतको पनि संसदीय यात्रामा विराम लागेको छ । युवा संघको नेतृत्वमा पुगेदेखि नै ओलीका हरेक राजनीतिक गतिविधिलाई नजिकबाट साथ दिँदै आएका बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट पराजय हुनुपर्यो ।

उनी २०७० को चुनावमा पराजय व्यहोरे पनि २०७१ भदौदेखि २०७२ असोजसम्म उद्योगमन्त्री बनेका थिए । बस्नेत २०७४ को प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा एमाले–माओवादी केन्द्र एवम् वाम गठबन्धन भएपछि भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी भएका थिए ।

सो निर्वाचनमा बस्नेतले कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई पराजित गरेका थिए । उनी अहिले सोही निर्वाचन क्षेत्रबाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता दुर्लभ थापासँग पराजित भए । थापाले २३ हजार पाँच सय मत प्राप्त गर्दा बस्नेतले २२ हजार छ सय ७७ मत प्राप्त गरेका थिए ।

ओलीका निकटपात्र प्रदेश नम्बर–१ का पूर्व मुख्यमन्त्री तथा पूर्व सञ्चारमन्त्री शेरधन राईको पनि संसद् पुग्ने यात्रामा विराम लागेको छ । नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले उनको संसद्को यात्रामा विराम लगाएका हुन् । भोजपुरमा सत्ता गठबन्धनका साझा उम्मेदवार किरातीले १९ हजार चार सय ८५ मत प्राप्त गरि निर्वाचित हुँदा राईले १७ हजार पाँच ८१ मत ल्याए ।

पार्टी अध्यक्ष ओलीले गरेका हरेक निर्णयको पक्षमा वकालत गर्ने राईले प्रदेशको नामाकरण समेत गर्न नसकेको आरोप खेप्दै आएका थिए । उनी ओलीको आँडमा सत्ताको स्वाद पटक–पटक चाख्दै आएका नेतामध्येका एक हुन् । उनलाई नागरिकको उत्तरदायित्वभन्दा ओलीप्रति उत्तरदायी बनेको एमालेभित्रैका एकथरी नेताले आरोप लगाउँदै आएका थिए ।

पार्टीको विदेश विभाग धान्दै आएका राजन भट्टराईको पनि यसपटक संसदमा मुहार देखिने छैन । भट्टराले कांग्रेसका महामन्त्री गगन थापासँग भारी मतान्तरले हार व्यहोरे । थापाले २१ हजार तीन सय दुई मत ल्याउँदा एमालेका भट्टराइले १३ हजार आठ सय ५५ मत ल्याए ।

संसदमा भट्टराईको अनुपस्थितिले केपी ओलीको सत्तायात्रमा चुनौती थपिएको छ भने वैदेशिक तथा कुटनितिक मामिलामा सहयोगको आवश्यक खड्कीने निश्चित छ ।

खोटाङमा विशाल भट्टराईको हारले पनि ओलीलाई चुनौती थपिएको छ । संसदमा ओलीका पक्षमा गर्जिने पात्रमध्ये उनी पनि एक थिए । उनी खोटाङबाट प्रतिनिधिसभा सदस्यमा गठबन्त्रधनका साझा उम्मेदवार माओवादी केन्द्रका राजकुमार राईसँग पराजित भए । राईले ३१ हजार तीन सय ५१ मत ल्याउँदा भट्टराइले २८ हजार ६८ मत पाए ।

ओलीकै निकट मानिने अर्का युवा नेता ऐन महर पनि बझाङबाट पराजित भए । उनलाई वाम लोकतान्त्रिक गठबन्धनका साझा तथा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार भानुभक्त जोशीले पराजित गरे । जोशीले २८ हजार एक सय ४३ मत प्राप्त गर्दा महरले २७ हजार एक सय ४५ मत पाए ।

पार्टी सचिव लेखराज भट्ट, सुरेन्द्र पाण्डेलगायत पदाधिकारी समेत यस पटक संसदमा देखिने छैनन् । यसले एमालेलाई संसदीय उपस्थितिमा कमजोर त बनायो भने सरकार गठनमा समेत प्रभाव पर्नेछ ।

संसदमा प्रतिनिधित्व र पार्टीभित्र बलियो पकड बनाउँदै आएका यी हाई प्रोफाइल भएका नेताहरूको पराजयले पार्टीलाई सरकारमा पुग्न थप चुनौती बन्ने पक्का छ । यद्यपि ओलीका केही विश्वासपात्र जो तल्लो स्तरको गालीग्लौजमा उत्रिने गोकुल बाँस्कोटा, सूर्य थापा लगायतका केही नेतालाई भने संसदमा देख्न पाइनेछ ।