पाँचथर । पाँचथरमा ५४ प्रतिशत मत खसेको छ । जिल्लामा अहिले बिहानसम्ममा सबै मतदान केन्द्रका मतपेटिका मतगणनास्थलसम्म ल्याइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मध्याह्नबाट मतगणना थाल्ने तयारी गरेका छन् । यसका लागि बिहान ११ बजे दल तथा उम्मेदवारका प्रतिनिधिलाई बैठकका लागि बोलाइएको सो कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथर जिल्लामा ३९ हजार छ सय ३७ जना पुरुष र ३५ हजार दुई सय ६१ महिला गरी ७४ हजार आठ सय ९८ जना मतदाता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा कूल एक लाख ३८ हजार नौ सय ३२ मतदाता थिए । करिब ५४ प्रतिशत मतदाताले मतदान गरेको सो कार्यालयले जनाएको छ ।
जिल्लाको कुम्मायक गाउँपालिका–४ स्थित सिद्ध माध्यमिक विद्यालय तिङदेन ‘ख’ मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीको २१ मतपत्र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीको मतपेटिकामा परेपछि झण्डै दुई घण्टा मतदान रोकिएको थियो ।