काठमाडौँ । गुल्मी जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ । जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडानम्ब-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंसिर ६ गते मंगलवार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।
आइतवार मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जनाले मतदान गरेका थिए । यो केन्द्र बाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान सकेर जिल्ला सदरमुकाम तम्घासमा मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनको लागि २ हजार ५ सय वढि सुरक्षाकर्मी र २ हजार बढी कर्मचारी परिचालन गरिएको छ । जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा ६ जना निर्वाचित जनप्रतिनिधिका लागि ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।