पोङ्याङ । उत्तर कोरिया अमेरिकाको हतियारको दम्भ तोड्न सफल भएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकी मुख्यभूमिको जुनसुकै भागमा पुग्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षणपछि आणविक धम्कीको जवाफ आणविक हतियारले नै दिइने प्रतिवद्धता जनाएपछि अब विश्वमा अमेरिकाको एकलौटी दादागिरी अन्त्य भएको हो ।
उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएले शनिबार उक्त क्षेप्यास्त्र प्रक्षेपणस्थलमा पहिलोपटक किम आफ्नी सानी छोरीसँग उपस्थित भएको पुष्टि गरेको याहुन्युजमा उल्लेख छ । सार्वजनिक भएको तस्बिरमा किम छोरीको हात समाउँदै परीक्षणस्थलमा हिँडिरहेको देखिन्छ ।
किमको निजी जीवनबारे निकै थोरै जानकारी मात्र बाहिरिने गरेको छ । किमकी छोरी रहेको पनि पहिलोपटक पुष्टि भएको हो ।
किमले गम्भीर मुद्रामा घोषणा गरेका छन्, “शत्रुहरुले निरन्तर आणविक आक्रमणको धम्की दिइरहेमा हाम्रो पार्टी र सरकारले पूर्णप्रतिवाद स्वरुप आणविक हातहतियारबाट प्रतिक्रिया जनाउने छन् ।”
शुक्रबार उत्तर कोरियाले राजधानी प्योङयाङबाट प्रहार गरेको ह्वासोङ–१७ क्षेप्यास्त्र उत्तरी जापानको होकाइदो टापुको पश्चिमतर्फको जलीय क्षेत्रमा खसेको थियो । जापानका प्रतिरक्षा मन्त्री यासुकाजु हामादाका अनुसार सो क्षेप्यास्त्र करिब ६२० माइल टाढा र अधिकतम तीन हजार ७२८ माइल उचाइसम्म पुगेको थियो ।
आफूले बोक्ने आणविक हतियारको वजनको आधारमा यसले नौ हजार माइलभन्दा बढी दूरी तय गर्न सकिने भएकाले यो अमेरिकी मुख्यभूमिको जुनसुकै स्थानमा पुग्न सक्ने दाबी हामादाले गरेका छन् ।
यस क्षेप्यास्त्र प्रक्षेपणको प्रत्युत्तरमा अमेरिकी बी–१ बी बमवर्षक लडाकुहरुले दक्षिण कोरियाली र जापानी विमानहरुसँग छुट्टै संयुक्त अभ्यास गरेका छन् ।
यसै महिना भएको उत्तर कोरियाको यो दोश्रो ठूलो हतियार परीक्षण हो । यसबाट किमले आफूसँग अमेरिकी नेतृत्वको सैनिक गठबन्धन विरुद्ध सामना गर्न सक्ने हतियार रहेको देखाएका छन् । ह्वाइट हाउस र विश्वका अन्य नेताहरुले यस क्षेप्यास्त्र प्रक्षेपणको भत्र्सना गरेका छन् ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले थाइल्यान्डमा चलिरहेको एपेक सम्मलेनमा यसै विषयलाई लिएर जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडाका नेताहरुसँग आपतकालीन बैठक आयोजना गरेकी छन् । ह्यारिसले उत्तर कोरियाले पटकपटक संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का निर्णयहरुको उल्लंघन गरेको बताएकी छिन् ।