• जेष्ठ १४ २०८३, बिहीबार

एकैदिन ११ जनाको मृत्यु, अवैध रूपमा गर्भपतन गर्ने र १५ हजार मतपत्रसहित ७ जना पक्राउ

कार्तिक ३० २०७९, बुधबार

कठमाडौं । देशका विभिन्न स्थानमा एकैदिन ११ जनाको मृत्यु भएको छ । सवारी दुर्घटना तथा आगलागी लगायत अन्य घटनामा परेर उनीहरूको मृत्यु भएको हो ।

आज (बुधबार) देशका विभिन्न स्थानमा सवारी दुर्घटना तथा आगलागीमा परेर ११ जनाको मृत्यु हुनुका साथै अवैध रूपमा गर्वपतन गर्ने र १५ हजार मतपत्रसहित ७ जनालाई पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जानकारी दिएको छ ।

झापा, कन्काई नगरपालिका–७ दुर्गापुरस्थित सडकमा सवारी दुर्घटनामा परेर एक दम्पतिको मृत्यु भएको छ । हिजो (मंगलबार) दिउँसो उनीहरुको मृत्यु भएको हो ।

को.१ ख ६७९४ नम्बरको बसले मे.७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र मोटरसाइकलमा सवार उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै महोत्तरी, बर्दिबास नगरपालिका–१२ अकनटोलस्थित सडकमा पनि सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । हिजो (मंगलबार) दिउँसो उनको मृत्यु भएको हो ।

ना.८ ख ५३३५ नम्बरको टिपरले ज.१२ प ३००६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा मिथिला नगरपालिका–८ बस्ने २१ वर्षीय बिजय कुमार महतो कोईरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा हस्पिटल बर्दीवासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको काव्या अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका–१० मंझरियास्थित सडकमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो उनको मृत्यु भएको हो ।

नम्बर नखुलेको ट्याक्टरले लु.८३ प ३०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पाल्पा तिनाउ गाउँपालिका–६ घर भएका ३७ वर्षीय सर बहादुर चिदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनालाई मेडिकल कलेज भैरहवा लगिएकोमा १ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका–१४ शिवनगर बस्ने ५ वर्षीय प्रसिद पाठकको करेन्ट लागेर मृत्यु भएको छ । हिजो साँझ उनको मृत्यु भएको हो ।

बिजुली बत्तिको सुईच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भक्तपुर, मध्यपुरठिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको कच्ची घरमा बुधबार बिहान आगलागी हुँदा उक्त आगलागीमा जलेर आत्माराम केसीको छोरी २५ वर्षीया अस्मिता केसीको मृत्यु भएको छ ।

आगालगीको खबर प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बाँके, नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित बारेकोटे शंकर होटलमा एक जनाको मृत अवस्थामा फेला परेका छन् । हिजो जाजरकोट बारेकोट गाउँपालिका–६ घर भएका ५० वर्षीय भक्त बहादुर बिक मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कास्की, पोखरा महानगरपालिका–१२ अन्नपूर्णटोलस्थित राम बहादुर गुरूङको घरमा रङ लगाउने क्रममा २ तला माथिबाट खसेर सोही महानरगपालिका–१० नागिन टोल बस्ने ३८ वर्षीय राजु खवासको हिजो साँझ मृत्यु भएको छ । खसेर गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका–३ सेखवनास्थित खेतवारी जोतेर बाटोमा निस्कने क्रममा लु.२ त ८७६९ नम्बरको ट्याक्टर पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय कृष्ण पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बागलुङ, ढोरपाटन नगरपालिका–२ सलामकोट बस्ने १९ वर्षीया सुनिता महत खत्रीको निसीखोला गाउँपालिका–२ पाखुटेस्थित निसीखोला तर्ने क्रममा खोलाले बगाएर बुधबार बिहान मृत्यु भएको छ ।

भक्तपुर, चाँगुनारायण नगरपालिका–६ तेलकोटबाट अवैध लागूऔषध गाँजा करिब १ किलो सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–१ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–७ जगाती डेरा गरी बस्ने २८ वर्षीय कमल बिक र रामेछाप दोरम्बा गाउँपालिका–८ घर भई भक्तपुर जगाती बस्ने १९ वर्षीय विशाल घतानी रहेका छन् ।

प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले नगरकोटबाट खरिपाटीतर्फ जाँदै गरेको बा.३ ख ६३१६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी गाडी चालक कमल र गाडीमा सवार विशाललाई पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्रामसहित भारत बहराईच बाबागञ्ज कुट्टि बस्ने २४ वर्षीय मोहमद अलीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका–११ सात नम्बर पिलरबाट अवैध लागूऔषध ब्राउनसुगर ६४ मिलिग्रामसहित भिमदत्त नगरपालिका–६ बस्ने २२ वर्षीय मोहित पहरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गड्डाचोकीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा हाप पाईन्टको ईजारमा लुकाई राखेको उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोरङ, बुढिगंगा गाउँपालिका–७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका–५ बस्ने २४ वर्षीय राजेश सरदारलाई कात्तिक १८ गते राति प्रहरीले पक्राउ गरेको छ ।

बुढिगंगा गाउँपालिका–५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरूबीच आपसमा वादविवादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते करणको गोल्डेन अस्पताल विराटनगरमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बारा, जबरजस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादी प्रसौनी गाउँपालिका–५ बेलहिया टोल बस्ने २५ वर्षीय श्याम सुन्दर साह तेलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

श्यामले १७ वर्षीया बालिकालाई ललाई फकाई पटकरपटक जबरजस्ती करणी गर्नुका साथै पीडितको जबरजस्ती गर्भपतन समेत गराएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले प्रसौनी गाउँपालिका–५ बेलहिया टोलस्थित लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी तथा गर्भ पतन मुद्दामा जिल्ला अदालत बाराबाट ४ दिनको म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पर्सा, जगरनाथपुर गाउँपालिका–२ दशौतास्थित सडकबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार मतपत्रहरुसहित भारत बिहार राज्य पश्चिम चम्पारन नरकटिया ग्रामपञ्चायत–१४ ठेगाना भएका ४० वर्षीय ईजाजत अहमदलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा भारतबाट नेपालको दशौतातर्फ आउँदै गरेको बिआर २२ डब्लु ८००२ नम्बरको भारतीय मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पोखरीया र बिओपि भिखमपुर पर्साबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडीको सिटको भागमा हरियो रंगको बोरामा उक्त परिमाणको मतपत्रहरू फेला पारी मोटरसाइकल चालक अहमदलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ मिलिग्रामसहित धनकुटा पाख्रीवास नगरपालिका–५ घर भएका २७ वर्षीय डिल्ली बहादुर कटुवाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरदेखि काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३ –००१ ख १३६३ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चुरोटको बट्टाभित्र लुकाइ ल्याएको उक्त पदार्थ सहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।