काठमाडौं। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको तल्लो स्वराड क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । बैतडीको शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा लोकतान्त्रिक वाम गठबन्धनले आज बुधवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले तल्लो स्वराड क्षेत्रलाई जोड्ने पाटन–पञ्चेश्वर सडक खण्ड छिट्टै कालोपत्र हुने, उग्रतारा मेलौली सडक खण्डलाई पूर्णता दिने र पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अगाडि बढाउन भारतसँग समन्वय गर्ने पनि बताए।
उनले भारतीय प्रधानमन्त्री मोदी पनि पञ्चेश्वर परियोजना अगाडि बढाउने कुरामा सकारात्मक रहेकाले पानी र बिजुली बेचेर पनि नेपालको आर्थिक उन्नति हुने योजना अगाडि बढाइने उल्लेख गरे । यो परियोजनाले तल्लो स्वराड क्षेत्रको विकासमा समेत टेवा पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भारतसँग सिमाना जोडिएको तल्लो स्वराडको महाकाली नदीमा पुल निर्माणको काम पनि अघि बढाउने आश्वासन दिए । । महाकालीमा झोलुङ्गे पुल नहुँदा यस क्षेत्रका नागरिक जोखिम मोलेर डुङ्गाबाट आवजावत गरिरहेका बेला उनले यस्तो बताएका हुन् ।