• बैशाख २७ २०८३, आईतवार

नागरिकता विधेयकमा मुद्दा लिनु राष्ट्रपतिकै अपमान भएको शीतल निवासको दावी

कार्तिक ३० २०७९, बुधबार

काठमाडौं। राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा परेको रिटमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्नु राष्ट्रपति संस्थाकै अपमान भएको जिकिर गरेको छ ।

सोमबार राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा राष्ट्रपतिले गरेको काम कारबाहीउपर अदालतमा मुद्दा नलाग्ने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ । यसरी कानुनले प्रष्ट तोकेको विषयमा रिट दर्ता हुनु र सुनुवाइ हुनु राष्ट्रपति संस्थाकै अपमान भएको लिखित जवाफमा दावी गरिएको छ ।

‘’रिट निवेदक सफा हात (Clean Hand Doctrine) नलिई बदनियतसाथ अदालत प्रवेश गर्नु र अदालतसमेतबाट रिट निवेदन ग्रहण गरी सुनुवाई प्रक्रियामा लैजानु कानुनको उल्लङ्घन मात्र नभई सम्मानित संस्था (राष्ट्रपति संस्था) प्रति राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले पेश गरेको लिखित जवाफमा भनिएको छ । यसैले रिट निवेदन शुरू विन्दुमा  (Prima facie )नै खारेज भागी भएको हुँदा खारेज गरिपाउँ’ रिटमा भनिएको छ ।

संघीय संसदले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै अधिवक्ता सुनीलरञ्जन सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गरेको थियो ।