काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । सभालाई सम्बोधन गर्न उनी आज गृहजिल्ला आउने भएका हुन् ।
कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवाले साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री देउवा यही कात्तिक १७ गतेदेखि चार दिनसम्म यहाँ बसेका थिए । सो क्रममा उनले सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासहित आठ उम्मेदवार चुनावी मैदानमा छन् । उनी २०४८ सालयताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।