कठमाडौं । आसन्न मंसिर ४ मा देशैभर एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि बस सेवाले अफरसहित आकर्षक उपहार ल्याएको छ । आज (मंगलबार) उक्त सेवाले विज्ञप्तिमार्फत चुनावमा घर जाने उम्मेदवार र मतदातालाई लक्षित गर्दै अफरसहित आकर्षक उपहार ल्याएको जनाएको छ ।
नेपालमा अनलाइनमार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले यो अफरसहित उपहार ल्याएको छ । यो अफर मंसिर ४ गते हुने चुनावका लागि घर जाने उम्मेदवार र मतदाता दुवैलाई लक्षित गर्दै ल्याइएको हो ।
अफर अन्तर्गत चुनावमा भाग लिन जाने मतदातामध्ये भाग्यशाली तीन जनाले बससेवाको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेसक्ने बताइएको छ । ती मतदाताले भोट दिएका तीन जना उम्मेदवारले समेत आकर्षक उपहार प्राप्त गर्नेछन् ।
मतदाताले भोट दिएका उम्मेदवारले चुनावमा विजयी वा पराजित व्यहोरे पनि उपहार प्रदान गरिने बताइएको छ । अफरबाट विजयी मतदाताले आफूले मत दिएको उमेद्वारको विषयमा बस सेवालाई जानकारी दिएपछि उम्मेदवारलाई उक्त उपहार प्राप्त हुने सो सेवाले जनाएको छ ।
मतदाताले सिफारिस गरेको उम्मेदवारको विवरण भने गोप्य राखिने भएको छ । विजेताको चयन बस सेवाको अािधकारिक फेसबुक पेजमा लाइभ गोलाप्रथामार्फत छनोट गरिनेछ ।
मतदाता लक्षित उपहार योजनाबारे बस सेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने, ‘देशको भविष्यसँग जोडिएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मतदाताको बढीभन्दा बढि सहभागिता होस् भन्ने उदेश्यले हामीले यस्तो अफर सार्वजनिक गरेका हौँ ।
अर्कोतर्फ मतदाता मत हाल्न जाने तर उम्मेदवारले मतदाता नचिन्ने अवस्था पनि छ, त्यसैले मत दिएका उम्मेदवारलाई पनि मतदाताको सिफारिसको आधारमा उपहार दिने योजना बनाएका हौँ ।’
यो योजना ६ दिन अर्थात् कात्तिक ३० गतेदेखि मंसिर ५ गतेसम्म लागू हुनेछ । मतदाता तथा यात्रुले बसपार्र्कका अलावा हालैमात्र बससेवाले कलंकीस्थित ढुंगेअड्डामा सञ्चालनमा ल्याएको प्यासेञ्जर लाउञ्जबाट बस चढेर सहजै यात्रा गर्न सक्ने बस सेवाले बताएको छ ।
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनीमा आबद्ध रहेका छन् । बस सेवाबाट नेपालका अधिकांश रूटहरूबाट यात्रुहरुले टिकट काट्न सक्छन् । यात्रुहरूले बससेवा डटकम, तथा बस सेवाको मोबाईल एपबाट टिकट काट्न सक्ने बताइएको छ ।
यात्रुहरुले बस सेवाको मोबाईलमार्फत टिकट काटी इसेवा, खल्ती, आइएमईपे लगायतका वालेटका साथै विभिन्न बैंकका मोबाईल बैंकिङमार्फत टिकट काट्न सक्ने बससेवा डटकमको सूचना तथा सञ्चार शाखा नयाँबानेश्वर काठमाडौंले जनाएको छ ।
त्यस्तै चुनावको मुखैमा हवाई यात्रुको चाप बढेको नेपाल वायु सेवा निगमले जनाएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
दिनहुँ १४ हजारभन्दा बढीले काठमाडौंस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । मंसिर ४ गते हुने चुनावका लागि मतदाता गन्तव्यमा पुग्नुपर्ने भएकाले अहिले यात्रुको भीडभाड बढेको छ । यात्रुको भीड बढेसँगै एयरलाइन्सको विजनेश पनि बढेको छ ।
वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले निर्वाचनको सन्दर्भमा आन्तरिक उडानमा केही चाप बढेको बताए । उनका अनुसार निर्वाचनको अघिल्लो दिन मंसिर १, २ र ३ गते तथा मतदानपछि मंसिर ५ र ६ गते उडानको चाप बढी हुने अनुमान गरिएको छ ।
निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सलगायत कम्पनीमा उडान चाप छ । बुद्ध एयरका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजङ्ग पाण्डेले पछिल्ला दिनमा उडान चाप बढेको बताए । उनका अनुसार अहिले बुद्ध एयरका उडानमा औसत अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ ।
बुध्द एयरले हाल दैनिक एक सय ५० उडानमार्फत् सात हजार पाँच सयभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीसँग ७२ सिट क्षमताका ११ र ४५ सिट क्षमताका तीन गरी १४ एटिआर र दुई बिचक्राफ्ट गरी कूल १६ जहाज छन् ।
यद्यपि पछिल्लो समय हवाई इन्धनका कारण टिकट मूल्य बढेकाले यसको विकल्प खोज्नेहरु पनि बढेको छ । काठमाडौंदेखि नजिकको गन्तव्य मानिने सिमराका लागि न्यूनतम तीन हजार छ सय र बढीमा चार हजार १५ भाडा दर कायम छ ।
साथै, काठमाडौं–धनगढीका लागि अधिकतम १६ हजार भाडा तोकिएको छ । यती एयरलाइन्सले छ थान एटिआरमार्फत् सेवा दिइरहेको छ ।
त्यसैगरी मंसिर ४ गते उडान नहुने भएको छ । चुनावको दिन अर्थात् मंसिर ४ गते आन्तरिक बन्द हुनेछ । उक्त दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ ।