• बैशाख २७ २०८३, आईतवार

कांग्रेसलाई ओनसरीले भनिन्,‘काठमाडौंमा मलाई जिताउनुस्, रोल्पामा कांग्रेसलाई जिताउँदै छौं’

कार्तिक २८ २०७९, सोमबार

काठमाडौं । पूर्वसभामुख तथा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले ४ मंसिरको निर्वाचनमा माओवादी, कांग्रेस र एकीकृत समाजवादी एक अर्काप्रति इमानदार रूपमा प्रस्तुत हुने बताएकी छन् ।

सत्तारुढ गठबन्धनले काठमाण्डौंको ऐतिहासिक सहर साँखुमा सोमबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै घर्तीले गठबन्धनमा आबद्ध यी तीन दलको मत एकअर्को दलका उम्मेदवारलाई सहजै ‘ट्रान्सफर’ हुने वातावरण बनेको बताइन् ।

४ मंसिरको निर्वाचनलाई सामान्य आवधिक चुनावका रूपमा मात्र लिन नहुने चर्चा गर्दै उनले लोकतन्त्र, व्यवस्था, संविधान र जनताको जित या हारका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

घर्तीले आफूलाई माओवादीको मात्र नभई गठबन्धनको उम्मेदवारका रूपमा हेर्न भन्दै माओवादी मतदाता र जनताले अन्यत्र कांग्रेस र समाजवादीका उम्मेदवारलाई पनि आफ्नै ठानेर मत दिने उल्लेख गरिन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर काठमाण्डौं–२ बाट संघमा आफू विजयी हुँदै गरेको भन्दै उनले रोल्पाको प्रदेश (ख)मा माओवादीको मतले कांग्रेस उम्मेदवार विजयी हुँदै गरेको बताइन् ।

घर्तीको गृहजिल्ला रोल्पाको प्रदेश (ख)मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका साझा उम्मेदवार छन् ।

‘कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर यहाँबाट संघमा म विजयी हुँदै गर्दा उनले रोल्पाको प्रदेश (ख) मा कांग्रेसका उम्मेदवार विजयी हुँदैछन्’, उनले भनिन्, ‘तपाईंहरू हँसिया हथौडामा भोट दिएर मलाई यहाँ जिताउँदै हुनुहुन्छ, रोल्पामा हामी रुखमा भोट दिएर कांग्रेसका उम्मेदवार जिताउँदैछौं । कतै कलम र कतै गिलासको जित गराउँदैछौं ।’

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सात दल र तत्कालीन विद्रोही आफ्नो दल मिलेर मुलुकबाट राजतन्त्र अन्त्य गरेको स्मरण गरिन् ।