काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन सार्वजनिक तथा निजी प्रयोजनका लागि चलाइने सवारी साधन गुडाउन अनुमति लिनुपर्ने भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार उक्त दिन सवारी साधन सडकमा गुडाउनुपूर्व अनुमति लिनुपर्ने भएको हो ।
आसन्न मंसिर ४ मा देशैभर एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन सार्वजनिक तथा निजी सवारी साधन चलाउनुपूर्व सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने भएको छ । निर्वाचन शान्त, भयरहित रूपले सम्पन्न गर्न निर्वाचन आयोगले सार्वजनिक तथा निजी सवारी साधन चलाउनभन्दा पहिले अनिवार्य अनुमति लिनुपर्ने बताएको छ । यद्यपि अतिआवश्यक काम परेको खण्डमा सम्बन्धित निकायबाट अनुमति लिएर चलाउनुपर्ने आयोगले जनाएको छ ।
तथापि आयोगले मंसिर ४ गते मतदानको दिन देहायको सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ ।
१. विरामी बोकेको एम्बुलेन्स
२. शव वाहन
३. दमकल खानेपानीको ट्यांकर
४. फोहोरमैला ओसारपसार गर्ने सवारी साधन
५. दूध बोक्ने सवारी साधन
६. सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहेक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन
७. दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन
८. अस्पतालमा कार्यरत परिचय पत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन
९. निर्वाचन आयोगबाट जारी परिचय पत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन
१०. तरकारी, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन
११. कूटनीतिक नियोग
१२. यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन
१३. विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन
१४. सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन
१५. आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन
मतदानको दिन सवारी आवागमन व्यवस्थापन कसरी गरिएको छ ?
निर्वाचन आयोगले शनिबार मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचन अर्थात मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ ।
सो मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्ने आयोगले बताएको छ ।
उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले मतदानको दिन सवारी साधन प्रयोग गर्न सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम र सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनमति जारी गर्ने निकाय वा अधिकारीसमक्ष निवेदन दिनुपर्ने उल्लेख गरेको छ ।
स्वीकृत मापदण्डबमोजिम मतदानको दिन आन्तरिक तथा बाह्य हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा बासस्थानदेखि विमानस्थलसम्म र विमानस्थलदेखि यात्रुको बासस्थानसम्मको आवागमनको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्ने बताइएको छ ।
अपाङ्गता भई आफै हिँडडुल गर्न नसक्ने व्यक्तिको लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपाङ्गता परिचय पत्रका आधारमा सवारी साधनको प्रयोग गर्न सकिनेछ । अशक्तताको कारणले आफै हिँडडुल गर्न नसक्ने व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतले तोकिएको ढाँचामा अनुमति पत्र जारी गर्न सक्ने बताइएको छ ।
मतदानको दिन सवारी साधनका लागि अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ । तर, त्यस्ता सवारी साधन मतदाता ओसारपसार गर्ने कामको लागि प्रयोग गर्न पाइने छैन ।
यदि मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा स्रक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई आवश्यक कानुनी कारबाही गर्नेछ र मतदानको काम सम्पन्न भएपछि मात्र फिर्ता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।