• बैशाख २७ २०८३, आईतवार

परमादेशी सरकार हटाउन एमालेसँग तालमेल गरेका हौं : एकनाथ ढकाल

कार्तिक २८ २०७९, सोमबार

धनगढी । नेकपा एमालेसँग चुनाबी सहकार्य गरी निर्वाचन प्रचार प्रचारमा होमिएका एमालेका समानुपातिक उम्मेदवार तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले परामादेशी सरकारलाई हटाउन एमालेसँग तालमेल गरेको बताएका छन् ।

नेकपा ऐमाले तथा नेपाल परिवार दल सुदूरपश्चिमले धनगढीमा संयुक्त आयोजना गरेको उम्मेदवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यकममा बोल्दै ढकालले अगामी निर्वाचनपछि अध्यक्ष केपी ओली फेरि प्रधानमन्त्री बन्ने दाबी गरे ।

पूर्वमन्त्री समेत रहेका ढकालले न्यायप्रेमी नेपाली जनताले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गर्दै परमादेश गलत भएको प्रमाणित गर्ने जिकिर गरे । सूर्यमा मत माग्दै देशब्यापी अभियानमा हिंडेका ढकालले जनतामा ओली प्यास रहेको आफूले पाएको बताउँदै मङ्सिर चार गते जनताको उक्त प्यास मेटिने जिकिर गरे ।

‘देशमा अहिले परमादेशबाट बनेको गठबन्धनको सरकार छ । नेपाली जनताको समृद्वि, प्रगति नचाहने देशीविदेशी तत्वहरूसँगको मिलोमतोमा अपारदर्शी र अलोकतान्त्रिक तरिकाले सरकारलाई बर्खास्त गर्नु आपतिजनक भन्दै नेता ढकालले संसदवाट प्रधानमन्त्री बन्ने संवैधानिक मान्यताको विपरित अदालती परमादेशबाट प्रधानमन्त्री नियुक्तिको गलत पद्धती र नजिर सच्याउन मङ्सिर ४ गते जनताले सहि फैसला गर्ने विश्वाश व्यक्त गरे ।

परमादेशी सरकारलाई हटाउन र समृद्ध नेपाल सुखी, नेपालीको नारा साकार पार्न एमालेसँग चुनावी तालमेल गर्नुको विकल्प नरहेको उनको भनाई थियो । सूर्य चिन्हबाटै प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार समेत रहेका ढकालले परिवार दलले सुदुरपश्चिमको विकासको लागि नेकपा एमालेसँग मिलेर काम गर्ने बताए ।

कार्यक्रम नेपाल परिवार दलका केन्द्रीय सदस्य एवं सुदुरपश्चिम संयोजक खडकसिंह नागरीको सभापतित्वमा र अध्यक्ष ढकालको प्रमुख आतिथ्यमा र कञ्चनपुर क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी रानाको विशेष उपस्थितिमा रहेको थियो ।

भेलामा बोल्दै नेता रानाले मंसिर–४ पछि नेपाली जनताको आफ्नै सरकार वा ओली सरकार बन्ने र जसले मुलुकलाई समृद्विको दिशातिर लाने दाबी गर्दै मंसिर ४ पछि जनताको अनुहारमा खुसी ल्याउने प्रतिबद्ता ब्यक्त गरे । कार्यक्रममा कञ्चनपुर ५ (ख) का उम्मेदवार दुर्गाप्रसाद जोशी, परिवार दलका केन्द्रीय सदस्य अधिवक्ता दयाराम कंडेल, केन्द्रीय सदस्य निर्मला श्रेष्ठले आ–आफ्नो मन्तव्य राख्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । कार्यक्रमका सभापति खडक नागरीले सुदुरपश्चिम प्रदेशवाट सूर्य चिन्हमा बिस हजार मत खसाल्ने दाबी गर्दै सुदुरपश्चिमका सबै जिल्लामा परिवार दलले एमालेलाई सघाउने बताए ।