• बैशाख २७ २०८३, आईतवार

काठमाडौँ–९, कृष्णगोपाल श्रेष्ठ र कल्पना धमलाबीच रोचक प्रतिस्पर्धा हुने

कार्तिक २७ २०७९, आईतवार

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौँ क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा (एमाले)बाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिस्पर्धामा छन् । त्यस्तै सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)की कल्पना धमला छिन् । सो क्षेत्रमा दुई नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । श्रेष्ठ स्थानीयको समस्यालाई नजिकबाट बुझेका नेता हुन् भने धमला भर्खरै सो क्षेत्रबारे बुझ्दै गरेकी नेतृ हुन् ।

विसं २०७४ निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार एमालेका श्रेष्ठले कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितलाई आठ हजार ५० मतले मतान्तरले पराजित गरेका थिए । उनले तत्कालीन समयमा २२ हजार आठ सय ५२ मत प्राप्त गरेका थिए । त्यतिबेला विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले चार हजार नौ सय ४६ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका थिए ।

श्रेष्ठलाई गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतपरिणामले विरासत जोगाउने चुनौती छ । तर,पनि श्रेष्ठ आफू जित्नेमा ढक्क छन् । श्रेष्ठ स्थानीयबासीको दुख सुख बुझ्न सक्ने नेता आफू प्रतिस्पर्धीलाई भारी मत ल्याएर जित्ने दावी गर्छन् । २०७४ को निर्वाचनमा चार हजार नौ सय ४६ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डे पनि यो पटकको चुनावमा उठेकाले श्रेष्ठ यो पटक प्रतस्पर्धी भन्दा धेरै मतान्तरले जित्ने उनको दावी छ ।

प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ९ मा १४ वटा वडा पर्छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले आठ वडा र एमालेले छ वडामा विजय हासिल भएको छ । एमालेका वडाध्यक्षले पाएको मतभन्दा कांग्रेस छ सय ३४ मतान्तरले अगाडि छ । कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले माओवादीका धमलालाई समर्थन गरेको छ । कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको मत जोड्दा कुल २१ हजार ७६ हुन्छ ।

अग्रगमनको पक्षमा संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासन राजनीतिक मुख्य एजेण्डा लिएर कल्पना धमला मैदानमा उत्रिएकी छिन्। गठबन्धन दलहरूको परम्परागत मत तान्न नसके माओवादी केन्द्रकी धमलालाई विजयी हुन कठिन देखिन्छ ।

प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ९ मा १४ वटा वडा पर्छन् । काठमाडौँ महानगरका १२, १४, २१, २२, चन्द्रागिरि नगरपालिकाका १, १२, १३, १४, १५, नार्गाजुन नगरपालिकाका ६, ७, ८, ९, १० वडा यस क्षेत्रभित्र पर्छन् । जसमध्ये कांग्रेसले काठमाडौँका दुई, चन्द्रागिरिका तीन र नागार्जुनका तीन वडामा विजय हासिल गरेको छ । एमालेले काठमाडौँका दुई, चन्द्रागिरिका दुई र नागार्जुनका दुई वडामा विजय प्राप्त गरेको छ ।

गत स्थानीय तहको मतपरिणाम अनुसार कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसका वडाध्यक्षहरुले १९ हजार नौ सय १६ मत प्राप्त गरेका छन् भने एमालेका वडाध्यक्षले १९ हजार दुई सय ८२ मत ल्याएका छन् । त्यस्तैगरी माओवादी केन्द्रका वडाध्यक्षहरुले छ सय ९५ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)ले चार सय ६५ मत प्राप्त गरेको छ ।

काठमाडौँ–९ मा १२ दलगत उम्मेदवार र १० स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी रहेको छ । श्रेष्ठ, धमला, पाण्डेसहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर पोखरेल, कांग्रेस विपीबाट रमेश थापा, राप्रपाबाट देवेन्द्र प्रधान, जसपाबाट शर्मिला सुवाल (डङ्गोल)लगायतको प्रतिस्पर्धा हुने देखिन्छ ।

सो क्षेत्रमा न्यूरोड, सङ्कटा मन्दिर, भोटेबहाल, लगनटोल, यंगाल, ब्रम्हटोल, जैशीदेवल, टेकु, कुलेश्वर, रविभवन, बल्खु, कलङ्की, स्युच्टार, एलआरआइ स्कुल, खड्कागाउँ, नयाँ नैकाप, पुरानो नैकाप, तीनथाना, सतुङ्गल (थोरै भाग), बलम्बु (थोरै भाग), दहचोक, भीमढुङ्गा, रामकोट, डाडापौवा, हसन्टारलगायत प्रमुख स्थान पर्छन् ।