सुर्खेत । आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावी सरगर्मी यतिबेला कर्णालीमा निकै बढिरहेको छ । दल तथा उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन् ।
निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा (एमाले)बीच नै प्रतिस्पर्धा देखिन्छ । सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला हुनुहुन्छ भने एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ ।
स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा सल्यानमा नेपाली कांग्रेसको ३३ हजार छ सय १६, माओवादी २६ हजार सात सय १३, एमालेको २६ हजार छ सय २८ र नेकपा (एकीकृत समाजवादी)को नौ हजार चार सय ६७ मत छ । एक लाख ५७ हजार सात सय एक मतदाता सङ्ख्या रहेको यस जिल्लामा गठबन्धनका साझा उम्मेदवार ज्वाला जित्नेमा ढुक्क छन् ।
विसंं २०५१, २०५६, २०७० र २०७४ सम्म चुनाव जितेर सल्यानमा राम्रै छवि बनाएका उनले यसपटक पनि आफूले चुनाव जितिसकेको र औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जिकिर गरे । उनले भने, “सल्यानको विकास र समृद्धिका लागि मैले गरेको कामलाई यहाँका मतदाताले राम्रोसँग पहिचान गर्नसक्नु नै मेरो जित हो ।”
एमालेका उम्मेदवार रायले आफ्नो व्यक्तित्व, भ्रष्टाचार नगर्ने सङ्कल्प र परिवर्तित जनताको मत नै यसपटकको चुनाव जित्ने मुख्य आधार भएको दाबी गरे ।
डोल्पामा पनि गठबन्धनमा साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य धनबहादुर बुढा आफ्नो जित हुनेमा ढुक्क छन् । विसं २०७० संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा सदस्य जितेका उनले तेस्रोपटक पनि आफ्नो जित सुनिश्चित रहेको जनाए ।
डोल्पा जिल्लाको स्थानीय तहको मतपरिणाम नेकपा (माओवादी केन्द्र)को चार हजार आठ सय ५५, एमालेको चार हजार पाँच सय ४५, कांग्रेसको तीन हजार ६९ र नेकपा (एकीकृत समाजवादी)को एक हजार तीन सय ३४ छ । डोल्पामा २२ हजार चार सय ४० मतदाता सङ्ख्या छ ।
उनकाृ प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीले पछिल्लो समयमा एमालेप्रति जनताको आशा बढ्दै गएकाले जित आफ्नो पोल्टामा पर्ने जनाए । “गठबन्धनलाई नै चिरेर मैले चुनाव जित्छु,” उनले भने, “मतदाताले मेरो काम हेर्न चाहिरहेका छन् ।”
प्रतिनिधिसभा सदस्यका लागि डोल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अङ्गतकुमार बुढा, नेकपा माक्र्सवादी (पुष्पलाल)बाट हर्कबहादुर ठकुल्ला र स्वतन्त्रबाट वीरबहादुर रोकाय पनि चुनावी मैदानमा छन् ।