• जेष्ठ ५ २०८३, मंगलवार

काठमाडौंमा अब खुलारुपमा आगो बाल्न र फोहर जलाउन नपाइने महानगरको निर्णय

कार्तिक २५ २०७९, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलारूपमा आगो बाल्ने र फोहरहरु जलाउने काममा प्रतिबन्ध लगाएको छ । खुलारूपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता कार्यले वायु प्रदुषण बढ्ने तथा जनस्वास्थ्य समेतमा प्रतिकूल असर गर्ने भएकाले यस्ता कामलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले आज जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ ।

यस्ता कामले देशको राजधानी समेत रहेको शहर प्रदूषित बनेको गुनासो आएकाले यस्तो काममा प्रतिबन्ध लगाइएको हो । लामो समयदेखि महानगर क्षेत्रमा आगो बाल्ने तथा फोहर जलाउने गरेको देखिएकाले यस्ता काममा रोक लगाइएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । महानगरपालिका वरपरका नगरपालिकामा पनि खुलारूपमा आगो बाल्ने र फोहर जलाउने गरिएको छ ।

प्रतिबन्धका बावजुद यस्ता काम कहीँकतै कसैले गरेमा महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने जारी सूचनामा उल्लेख गरिएको छ ।