• जेष्ठ ५ २०८३, मंगलवार

चितुवाको आक्रमणबाट ३ जना घाइते

कार्तिक २५ २०७९, शुक्रबार

स्याङ्जा । चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन्।

वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान ९:१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन्।

वालिङ–१४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएका हुन्।

कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको र भित्र जाँदा तुलसा र लक्ष्मी घाइते भएकी हुन्।

घाइते भएकी तुलसाको अनुहारमा गहिरो चोट लागेको छ। न्यौपानेको छाती तथा पाखुरामा चोट छ भने लक्ष्मीको पाखुरामा चोट लागेको छ। घाइते तीनै जनालाई उपचारका लागि गह्रौं प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको अस्पतालका वरिष्ठ ल्याब अधिकृत ईश्वर कोइरालाले जानकारी दिए।

चितुवालाई घरभित्रै थुनेर नियन्त्रणमा राखिएको छ। अहिले उक्त ठाउँमा स्थानीयवासी, प्रहरी र इलाका वन कार्यालय वालिङबाट टोली पुगेको छ। चितुवालाई नियन्त्रणमा लिने तयारी गरिएको छ।