काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
नवलपरासी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको चुनावी प्रचारमा गएको भन्दै आयोगले अध्यक्ष केसीलाई स्पष्टीकरण सोधेको हो ।
चौधरीको चुनाव प्रचारमा केसी सहभागी भएकाबारे समाचार आएको भन्दै आयोगले त्यसबारे स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने” भन्ने उल्लेख छ ।
खण्ड (ख) मा “राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने” समेत व्यवस्था छ ।