काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।
प्रचण्डको उम्मेदवारी रोकिनुपर्ने र उनीविरुद्ध गम्भीर माधवअधिकार हननसहित फौजदारी कसुरमा अनुसन्धान हुनुपर्ने मागसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट पेस गरेका थिए ।
रिट परेपछि सर्वोच्च अदालत प्रशासनले यसलाई अध्ययनमा राखेको थियो । अदालतले प्रस्तुत विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताउँदै प्रचण्डको उम्मेदवारी रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गरेको हो ।
‘प्रस्तुत विषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट संक्रमणकालीन न्याय पद्धतिअनुसार निरुपण हुने नै हुँदा यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत प्रस्तुत निवेदन लिइ आएको देखिँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दर्ता गर्न मिलेन’, दरपीठ आदेशमा भनिएको छ ।