काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने मतदानमा सहभागी हुने अस्थायी मतदाताका लागि १ सय ४१ मतदान केन्द्र स्वीकृत भएको छ ।
अन्तिम अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजायँ पाएका बाहेकका कारागारमा रहेका कैदी र बन्दी लगायतका व्यक्तिहरूले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउँछन् ।
उनीहरुका लागि निर्वाचन आयोगले ७७ जिल्लाका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र स्वीकृत गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो ।
मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी आयोगले व्यवस्था मिलाएको छ । अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था भएकोले आयोगले सोही बमोजिमको व्यवस्था मिलाई मतदानको सुनिश्चितता गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् अस्थायी मतदान केन्द्र :



