काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ । यसपटक निर्वाचन सुरक्षामा झन्डै तीन लाख सुरक्षाकर्मीहरु परिचालित छन् ।
तीन सुरक्षा निकायका एक लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालित छन् । अहिले आवश्यकताका आधारमा धेरै सुरक्षाकर्मी निर्वाचन सुरक्षामा परिचालित भइसकेका गृह मन्त्रालयले जनाएको छ । मतदानस्थलको चुनौतीका आधारमा विश्लेषण गरेर निर्वाचन सुरक्षा चुस्त पारिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
मन्त्रालयले एकीकृत सुरक्षा योजना बनाएर तीन सुरक्षा घेरा निर्माण गरी निर्वाचनको विशेष सुरक्षा योजना तयार पारेको छ । जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना तैनाथ हुनेछन् । आ–आफ्नो सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी पूरा गर्न तीनवटै सुरक्षा निकाय सक्रिय छ । सुरक्षा निकाय तल्लीनसाथ लागेको छ ।
निर्वाचन आयोगमा रहेको निर्वाचसम्बन्धी संयुक्त अपरेसन टोलीले समेत एकीकृत रुपमा काम गरिरहेको छ । त्यसका लागि नेपाल प्रहरीबाट एसएसपीको नेतृत्वमा नौजनाको समूह छ । सामाजिक सञ्जाल लगायतका विभिन्न क्षेत्रमा निगरानी गर्ने काम गरिरहेको छ ।
“समग्रमा यसपालिको निर्वाचनको सुरक्षा योजना राम्रो र भरपर्दो छ, ढुक्कसँग मत दिने वातावरण छ”, नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भन्नुभयो भने ।