काठमाडौं । निर्वाचन आयोगले पर्सा जिल्ला निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभाका नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजाललाई स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार आचारसंहिता अनुगमन अधिकृत प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको सम्बन्धमा स्पष्टीकरण सोधेको हो ।
आचारसंहिता विपरीतका निर्वाचन प्रचारप्रसार सामग्री हटाएको विषयमा रिजालले कार्कीलाई धम्की दिएको विषयमा आयोगमा लिखित उजुरी आएको आयोगले जनाएको छ ।
निर्वाचन ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) अनुसार निर्वाचनमा संलग्न कर्मचारीलाई धाकधम्की वा डर, त्रास देखाउन हुँदैन ।
ऐनको सोही दफाको उपदफा (४) मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
‘तपाईंले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) विपरीतको कार्य गरेको हो, होइन ? त्यस्तो कार्य गरेको हो भने तपाईंविरुद्ध प्रचलित कानून बमोजिमको कारबाही प्रक्रिया किन अगाडि नबढाइनु पर्ने हो ?”,
आयोगको स्पष्टीकरणमा भनिएको छ, “यदि तपाईंले निर्वाचनको काममा खटिएको कर्मचारीविरुद्ध हुने गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा (४) को खण्ड (ढ) र (ण) विपरीतका कार्य गर्नुभएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’