• जेष्ठ ५ २०८३, मंगलवार

मंसिर १ गतेदेखि नेपाल-भारत सीमा तीन दिन बन्द हुने

कार्तिक २० २०७९, आईतवार

बुटवल । नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल र भारतका सुरक्षा अधिकारीबिच शनिबार भैरहवामा भएको बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट नाका बन्द (सिल) गर्ने निर्णय गरेको हो ।

‘विगतका आम चुनावमा जस्तै यस पटक पनि ७२ घण्टा नाका सिल गर्ने निर्णय भएको छ,’रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले भने ।

बैठकले सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैर कानुनी कार्यहरू नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने, सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, जाली नोट नियन्त्रणलगायतका साझा सवालहरूका विषयमा निर्णय गरेको अर्यालले बताए ।

बैठकमा रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिम तथा भारतको सिद्धार्थनगर, महाराजगन्जका सुरक्षा अधिकारीहरू सहभागी थिए ।