काठमाडौं । नेकपा एकीकृत समाजवादकी सचिव तथा गुल्मी २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी झाक्रीले सत्ता गठबन्धनका उम्मेदवारको जित निश्चित भएको दाबी गरेकी छिन् । चुनावी घर दैलो कार्यकम र विभिन्न क्षेत्रमा गरिएको सभाले गठबन्धनका उम्मेदवारको विजयी सुनिश्चित देखिएको बताएकी हुन् ।
‘सबै पालिकामा, धेरै वडामा, जनताको दैलोमा मात्रै होइन, बुटवल, काठमाडौं लगायतका क्षेत्रमा रहेका गुल्मेली बौद्धिक मतादातासँग पुगियो, सुझाब लिइयो, त्यो उत्साह र उपस्थितिले गठबन्धनका सबै उम्मेदवारको जित निश्चित गरेको छ ।
वाम लोकतान्त्रिक गठबन्धन काठमाडौं–गुल्मी सम्पर्क समितिले काठमाडौंमा शनिबार आयोजना गरेको सभामा उनले भनिन्, ‘एमाले कार्यकर्तासमेत परिवर्तनका पक्षमा कलममा भोट हाल्दै गरेको अवस्थामा अब डर प्रतिस्पर्धीको होइन बदर कम गर्ने चुनौती हो । त्यसैले उचित मतदाता शिक्षा चाहिएको छ । स्थानीय तहको निर्वाचनमा बदर मतको कारण कतिपय पद जित्दा जित्दै पनि प्राविधिक रुपमा हारेको उनको दाबी थियो ।
उनले आफूहरू एमालेको विरुद्धमा नभएर गुल्मीको माटोमा अरुलाई उठ्न नदिने प्रवृत्ति र व्यक्तिको निजी आकांक्षामा सधैँभरि व्यापार गर्ने तत्वका विरुद्धमा लडेको दाबी गरिन् । नेतृ झाँक्रीले गुल्मी मानव श्रोतका हिसावले देशलाई नै विकल्प दिन सक्ने नमुना जिल्ला भएको भन्दै मध्यमवर्गीय परिवारका लागि उपयोगी स्वरोजगारका कार्यक्रम निर्माण आफ्नो प्राथमिकता भएको बताइन् ।
गुल्मीका कांग्रेस नेताहरूले लोकतन्त्रको रक्षा र विकासका लागि झाँक्री नमुना पात्र भएकोले उनको उम्मेदवारीलाई गुल्मेलीले गर्व गर्नु पर्ने बताए । गुल्मी २ गठबन्धन गरेवापत नेकपा एसको भागमा परेको होइन । भाग छुट्याएको भए कांग्रेसकै भागमा पर्ने थियो यो ।
विशुद्ध रामकुमारीको इमानको सम्मान गर्दै दिइएको उपहार होझ, कांग्रेस पूर्व जिल्ला पार्टी सभापति तथा समानुपातिक उम्मेदवार त्रैलोक्यप्रताप सेनले भने,‘२५ वर्षपछि गुल्मीमा गरिँदै आएको राजनीतिक व्यापार बन्द गर्ने अबसर प्राप्त भएको छ, गुल्मीले एउटा निडर र स्वाभिमानी नेता पाएको छ ।’