• जेष्ठ १४ २०८३, बिहीबार

प्रत्येक दिन मानिसहरूको मृत्यु भयावह बन्दै : एकैदिन १४ जनाको मृत्यु

कार्तिक १९ २०७९, शनिबार

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा एकै दिन १४ जनाले ज्यान गुमाएका छन् । आज (शनिबार) नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी अनुसार एकैदिन यति धेरै मानिसले ज्यान गुमाएका हुन् ।

सडक सवारी दुर्घटना र अन्य विभिन्न कारणबस् १४ जना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सवारी दुर्घटनामा परि झापा, मेचीनगर नगरपालिका–६ ग्यारेज नजिकै एक जनाको ज्यान गएको छ । ग्जारेज छेउ सडकमा मे.१० प २९१७ नम्बरको स्कुटरको ठक्करबाट साइकल सवार एक जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा भारत दार्जिलिङ घर भएका २५ वर्षीय रमन सिंह रहेको प्रहरीले जनाएको छ । सिंहको हिजो (शुक्रबार) साँझ ज्यान गएको हो । स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै अर्घाखाँची, सितगंगा नगरपालिका–१२ बसेरीमा एक जनाको ज्यान गएको छ । लु.६ प २८५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालीमा ठोक्किदा चालकको हिजो (शुक्रबार) दिउँसो ज्यान गएको हो ।

ज्यान गुमाउने पाणेनी गाउँपालिका–८ पाली बस्ने ५२ वर्षीय भोज बहादुर थापा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र ठाडा हुँदै जिल्ला अस्पताल अर्घाखाँचीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी पाल्पा तिनाउ गाउँपालिका–३ झुम्सामा लु.२ ख २४९ नम्बरको बसले ग.१६ प १४८६ नम्बरको मोटरसाइकललाई हिजो (शुक्रबार) दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान गुमाउने स्याङ्जा चापाकोट नगरपालिका–५ बस्ने ४१ वर्षीय मोहन प्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, पोखरा महानगरपालिका–१७ बेलघारीस्थित सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । ग.३ च ६६३ नम्बरको जीप अनियन्त्रित भई नालीमा पल्टिएर हिजो (शुक्रबार) राति दुर्घटना हुँदा जीपमा सवार एक जनाको ज्यान गएको हो ।

घादिङ सिद्धलेक गाउँपालिका–३ सुन्दरपानी घर भई कास्की पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने २१ वर्षीय फणिन्द्र उपरकोटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य १ जनाको नमस्ते अस्पताल पोखरामा उपचार भइरेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित सडकमा प्रदेश २–०२–००१ ह ०९१८ नम्बरको अटो अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा अटोमा सवार एक जनाको ज्यान गएको छ । सोही नगरपालिका–३ राजाबास बस्ने ५० वर्षीय बल बहादुर भण्डारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा बताएको छ ।सुनसरी, रामधुनी नगरपालिका–१ शिवचोकमा को.१ ख४५४२ नम्बरको बसले प्र–१–०२–०४५ प ४२५३ नम्बरको मोटरसाइकलले आज (शनिबार) दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

हाल नाम, थर, नखुलेका करिब ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

रामेछाप, उमाकुण्ड गाउँपालिका–५ चिलाउने संशरीडाँडामा लु.३ त २४९९ नम्बरको ट्याक्टर सडकबाट करिब ९० मिटर तल खसेर आज (शनिबार) बिहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय प्रेम कुमार सुनुवारको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १ जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डाँडाखर्कतर्फ पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

बारा, कोल्हवी नगरपालिका–२ सात नम्बर घोलस्थित सडकमा मधेश प्रदेश ०३–०२३ प ३३३४ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००७ प २३४९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । आज (शनिबार) बिहान दुर्घटना हुँदा प्रदेश २–०३–००७ प २३४९ नम्बरको मोटरसाइकल चालक रौतहट पिपरीया घर भएका २८ वर्षीय अजय कुमार यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जन नायक अस्पताल कोल्हवी हुँदै थप उपचारको लागि कलैयातर्फ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मधेश प्रदेश ०३–०२३ प ३३३४ नम्बरको मोटरसाइकल चालकको सिटी अस्पताल निजगढ बारामा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका–२६ बिमाखु चोक सुनाकोठी डेरा गरी बस्ने धादिङ काङकोस गाउँपालिका– ९ घर भएका ५७ वर्षीय राम बहादुर गुरुङ आफ्नै कोठामा आज (शनिबार) मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुर, भिमफेदी गाउँपालिका–७ भण्डारखोप बस्ने ४० वर्षीय राज कुमार ठकुरी सोही ठाउँस्थित खहरे खोलाको छेउमा हिजो (शुक्रबार) मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, सियारी गाउँपालिका–६ सर्जुगंजस्थित खाली घरमा सोही गाउँपालिका–७ बर्दहवा बस्ने ३६ वर्षीय अर्जुन थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।