• बैशाख २७ २०८३, आईतवार

ओलीलाई देउवाको जवाफ : ‘दार्चुला गएर भाषण गर्दैमा लिम्पयाधुरा फिर्ता आउँदैन’

कार्तिक १९ २०७९, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख एमालेका अध्यक्ष केपी ओलीसँग दार्चुलामा भाषण गरेर लिम्पियाधुरा फिर्ता आउँछ ? भनेर प्रश्न सोधेका छन् ।

शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याउने बताए ।
‘केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?,’ देउवाले भने, ‘कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो ।’

उनले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने धारणा व्यक्त गरे । प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्ने उनको भनाइ थियो ।

‘अति नै भएपछि हामी अदालत गएका हौं,’ उनले भने । यस्तै डडेल्धुरामा मेडिकल कलेज स्थापना र विमानस्थल बनाउने पनि बताए ।

‘गर्भवतीले उपचार नपाएर ज्यान गुमाउनु पर्दैन, मेडिकल पढाइ पनि यहीँ हुन्छ,’ उनले भने, ‘विमानस्थलका विषयमा सम्भाव्यता अध्ययन गरिने र जहाज ल्याएरै छोडिनेछ ।’

डडेल्धुराको धेरै विकास भइसकेको बताउँदै उनले बाँकी काम पनि आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे । सभालाई सम्बोधन गर्दै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे । ‘खगराज भट्ट माओवादीको नेता हो । उहाँ र हाम्रो पार्टीका साथी मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ । डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ,’ उनले भने ।