काठमाडौं । जर्मन चान्सलर ओलाफ सोल्ज चीनको राजधानी बेइजिङ गएका छन् । चीनसँग द्वीपक्षीय व्यापार प्रवद्र्धनको उद्देश्यसहित जर्मन चान्सलर ओलाफ सोल्ज बेइजिङ पुगेका हुन् ।
उच्च पदस्थ अधिकारीसहित बेइजिङ पुगेका ओलाफले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् । जर्मन अमेरिकाको साझेदार संगठन युरोपियन युनियनको सदस्य देश हो ।
१२ व्यापारिक कम्पनीको प्रतिनिधि मण्डलसहित बेइजिङ गएका जर्मन चान्सलरले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई समेत भेट गर्ने कार्यक्रम छ । भेटवार्तामा ओलाफ र सीले प्रतिकूल विश्व परिस्थितिका बाबजुद द्वीपक्षीय व्यापारिक सहकार्यलाई बढावा दिने प्रतिवद्धता जनाएका छन् ।
‘आपसी सहकार्य र विश्वासलाई बलियो बनाउँदै द्वीपक्षीय व्यापारिक साझेदारीलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता दुबै पक्षले गरेका छन्,’ सिसिटिभीले भनेको छ ।
पछिल्लो तीन वर्षमा जी-सेभेन राष्ट्रका कुनै पनि राष्ट्र प्रमुखले बेइजिङ पुगेका छैनन् । जर्मनीको अर्थतन्त्र मन्दी उन्मुख भएपछि व्यापारिक सहकार्यका लागि जर्मनी बेइजिङ पुगेको हो ।
ओलाफ नेतृत्वको सरकार व्यापारमा चीनसँगको निर्भरता कारण बेचैन देखिन्छ । बेइजिङ जर्मनीको ठूलो बजार हिस्सा हो । जर्मनीले चीनसँग वार्षिक २ सय ४२ अर्ब डलरको कारोबार गरिरहेको तथ्यांक छ ।
बेइजिङले रूससँगको मित्रतामा कुनै पनि सीमा नरहेको घोषणा गरिसकेको छ भने अमेरिकासँगको सम्बन्धमा समेत चिसोपना आएको छ । यस्तो अवस्थामा अमेरिकी साझेदार देश जर्मन र चीन नजिक हुनुलाई अर्थपूणर् रुपमा हेरिएको छ ।