जनकपुरधाम । निहारिकाका छोराको डिएनए शिवराजसँग मिलेको छ । महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका ३ का शिवराज श्रेष्ठसँग मिलेको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा गरिएको डीएनए परीक्षणमा श्रेष्ठको डीएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको छ । राजपुतका कानुन व्यवसायी अधिवक्ता रिन्कु कुमारी यादवका अनुसार आज अदालतले डीएनए परीक्षणको प्रतिवेदन प्राप्त गरेको छ ।
प्रतिवेदनको अनुसार श्रेष्ठ र राजपुतका छोराको डीएनए म्याच भएको जानकारी उच्च अदालत जनकपुरका प्रवक्ता नुतन झाले दिइन् ।
झाका अनुसार २५ गतेका लागि साधारण तारेख दिइएको थियो । अब रिपोर्ट आइसकेकोले २५ गते अर्को सुनुवाइको पेसी तोकिनेछ ।
शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन् । तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दाबी गर्दै आएका थिए ।
बच्चा शिवराजकै रहेको निहारीकाको दाबीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुवैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो ।