काठमाडौं । विशेष अदालतले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का महामन्त्री विनोदकुमार सिंहलाई भ्रष्टाचारको मुद्दामा सफाइ दिएको छ। २ करोडको अकूत सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको मुद्दामा सिंहले सफाइ पाएका हुन्।
अख्तियारले जाँच अवधिमा सिंहको कूल ३ करोड ५१ लाख ८२ हजार ६४४ रुपैयाँ सम्पत्ति फेला परेको र जसमध्ये १ करोड ६० लाख २१ हजार १८ रुपैयाँको मात्र स्रोत खुलेको दाबी गरेको थियो। विशेषले अदालतले भने अख्तियारको दाबी पुष्टि हुन नसकेको भन्दै सफाइ दिएको हो।
विशेष अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र यमुना भट्टराईको इजलासले सिंहसहित परिवारलाई नै सफाइ दिने फैसला सुनाएको हो। सार्वजनिक सेवाबाट अवकाशपछि राजनीतिमा सक्रिय रहेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ कात्तिक १९ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
गैरकानुनी रुपमा सिंहले आर्जन गरेको सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा अख्तियारले सिंहकी श्रीमती गीतादेवी सिंह, छोराहरू अनुपकुमार सिंह र अचलकुमार सिंहलाई पनि प्रतिवादी बनाएको थियो।