• जेष्ठ ५ २०८३, मंगलवार

बालकको छुरा रोपेर हत्या, बाबुआमाले सुनेको दियुसको त्यो अन्तिम बोली

कार्तिक १४ २०७९, सोमबार

काठमाडौं । झापाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ । मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१० बस्ने १४ वर्षीय दियुस श्रेष्ठको ज्यान गएको हो ।

गत माघ-फागुनदेखि मात्रै उनी बेलबारीस्थित दिदीको घरमा बसेर पढ्न थालेका थिए। कक्षा ७ सम्म उर्लाबारीकै भृकुटी बोर्डिङ स्कुल पढेका थिए।

दिदी दीपिकाको घर बसेर पढिरहेका उनी भाइटीकाको दुई दिनअघि मात्रै घर आएका थिए। १० गते भाइटीका सकियो। उनी १२ गते इटहरीस्थित ठूलीआमाको घर हिँडेका थिए। ठूलीआमाको घर हिँडेका दियुस सकुशल घर फर्किनै पाएनन्। ‘ठूलीआमाको घर हिँडेको’ बोली नै बुवाआमाले अन्तिम सुन्न पाए।

हत्यामा संलग्नको खोजीका लागि प्रहरी परिचालन गरिसकेको र केही शङ्कास्पदको नाम प्राप्त भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले बताए । छुरा प्रहारबाट घाइते श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि झापाको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।