• बैशाख २७ २०८३, आईतवार

कांग्रेस घोषणापत्रः स्वास्थ्य वीमा १० लाख पुर्याइने

कार्तिक १२ २०७९, शनिबार

काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य बीमाका कार्यक्रमहरुलाई एकीकृत गर्ने घोषणा गरेको छ। आफ्नो घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले सबै बीमा र स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बीमा मार्फत सञ्चालन गर्ने घोषणा गरेको हो।

कांग्रेसले स्वास्थ्य बीमाबाट प्रदान हुने उपचार खर्चको दायरा पनि बढाउने घोषणापत्रमा उल्लेख गरेको छ। स्वास्थ्य बीमा गरेका नागरिकले १० लाख रुपैयाँसम्मको उपचार पाउने घोषणापत्रमा उल्लेख छ। सरकारले हाल स्वास्थ्य बीमा गराए बापत एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार उपलब्ध गराउँदै आएको छ।

‘बीमा रकमको दायरा बढाई १० लाख पुर्‍याउने छ। आधारभूत बाहेकका सबै स्वासस्थ्य सेवा बीमाबाट हुने गरी सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बीमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिनेछ।बीमा रकमको दायरा बढाई १० लाख पुर्‍याइने छ। आधारभूत बाहेकका सबै स्वासस्थ्य सेवा बीमाबाट हुने गरी सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बीमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिनेछ,’ घोषणापत्रमा भनिएको छ।

घोषणापत्र अनुसार अब अन्य क्षेत्रबाट चलेका स्वास्थ्य बीमाका कार्यक्रम र निशुल्क स्वास्थ्य कार्यक्रमहरु पनि बीमा मार्फत नै हुने छ। घोषणापत्रमा अबको पाँच वर्षभित्र स्वास्थ्य बीमा अन्तर्गत सबै नागरिकलाई समेट्ने पनि उल्लेख छ।

पाँच वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा र बीमा मार्फत गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने घोषणापत्रमा उल्लेख छ।