• जेष्ठ ५ २०८३, मंगलवार

एक नेपालीको ज्यान लिएका भारतीय युटुबरको काठमाडौंमा उपचार हुँदै

कार्तिक ११ २०७९, शुक्रबार

काठमाडौं । कात्तिक ८ गते धादिङको गजुरीमा मोटरसाइकल दुर्घटना गराएका भारतीय युट्युबर जट्ट सिंहको गोडाको अपरेशन गरिएको छ । पैदलयात्रीको मृत्यु हुनेगरी मोटरसाइकल दुर्घटना गराएका सिंह आफूपनि घाइते बनेका थिए ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गर्दा युट्युबर सिंहले चलाएको भारतीय नम्बर प्लेटको एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकल धादिङको गजुरी बजारमा दुर्घटनामा परेको थियो । गजुरी बजारमा पैदल यात्रा गरिरहेका गजुरी नगरपालिका–१, नयाँबारीका ७९ वर्षीय सुरबहादुर धिताललाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

त्यसपछि अनियन्त्रित बनेको उनको मोटरसाइकल सडक किनाराको नालीमा पछारिएको थियो । पैदलयात्री वृद्धको मृत्यु भएसँगै प्रहरीले सिंहलाई निगरानीमा राखेर काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेको छ । ग्राण्डी अस्पतालले उनको एउटा अपरेशन गरिसकेको छ । उनको गोडामा गम्भीर समस्या देखिएको प्रहरीले जनाएको छ ।

पहिले उपचार गर्नु दायित्व भएको भन्दै उपचारपछि उनलाई नियन्त्रणमा लिई सवारी ज्यानको मुद्दा चलाउने तयारी भइरहेको धादिङ प्रहरीले जनाएको छ । नेपालको कानुनले तोकेको र मापदण्ड भन्दा विपरीत अत्याधिक गतिमा मोटरसाइकल चलाउँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले लापरवाहीपूर्वक सवारीसाधन चलाएको कसुरमा उनीमाथि मुद्दा चलाउने तयारी गरेको छ ।

भारतीय सवारी साधन र भारतीय नागरिक भएपनि जट्टमाथि नेपालको कानुन अनुसार नै मुद्दा चल्ने छ । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम १८ को उपनियम ५ मा मोटरसाइकलको गति अधिकतम ५० किलोमिटर प्रतिघण्टा र बस्तीमा बढीमा ४० किलोमिटर प्रतिघण्टामा सीमित रहनुपर्ने उल्लेख गरेको छ । तर एक हजार सिसीको जट्ट सवार मोटरसाइकलको गति करिब ९० किलोमिटर प्रतिघण्टाको हाराहारीमा रहेको दावी गरिएको छ । उनले लापरवाहीपूर्वक सवारीसाधन चलाएर पैदलयात्रीको ज्यान लिएको कारण उनीमाथि लापरवाहीपूर्वक सवारी चलाएको कसुरमा मुद्दा चलाउने तयारी भएको छ ।

जट्ट ३ देखि १० वर्षसम्म जेल पर्न सक्ने नेपालको कानुन अनुसार जट्टले लापरवाहीपूर्वक सवारीसाधन चलाएको पुष्टी भएमा उनी ३ देखि १० वर्षसम्म जेल जानसक्ने देखिएको छ । यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ अनुसार उनी ३ वर्षदेखि १० वर्षसम्म जेल जानसक्ने देखिएको छ ।

ऐनको दफा १६१ को उपदफा २ मा लापरवाहीपूर्वक सवारीसाधन चलाएर कसैको ज्यान गएमा १० वर्षसम्म कैद सजाय हुनसक्ने उल्लेख छ । उपदफा २ मा भनिएको छ, ‘कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदादेखिँदै पनि अपनाउनुपर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे–बसेको मान्छे त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणामस्वरूप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्राअनुसार तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’

अत्याधिक गतिमा मोटरसाइकल चलाउँदा उक्त मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको पुष्टी भएमा जट्टमाथि यही दफा अनुसार कारवाही हुनेछ । तर जट्टले सावधानी अपनाउँदा अपनाउँदै पनि पैदलयात्रीलाई ठक्कर दिई मृत्यु भएको आधार देखिएमा ऐनको दफा १६१ को उपदफा ३ बमोजिम एक वर्षसम्म कैद र २ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।

मृतकका परिवारले बीमावापतको रकम पाउने इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मृतकका परिवारले नेपाल सरकारको नियम अनुसार पाउनुपर्ने किरिया खर्च र बीमावापतको रकम मोटरसाइकल चालकबाटै भराइने छ । नेपाल सरकारको नियम अनुसार बीमावापत मृतकको परिवारलाई पाँच लाख र किरिया खर्चवापत २५ हजार उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

मोटरसाइकलका विभिन्न स्टण्ट देखाउने जट्टले भर्खरैमात्रै कावासाकीको निन्जा एच टु मोडलको मोटरसाइकल खरिद गरेका थिए । भारतमा उक्त मोटरसाइकलको मूल्य करिब ४५ लाख भारतीय रुपैयाँभन्दा बढी रहेको छ । मोटो भ्लगर सिंहले नेपाल आउनुअघि तयार पारेका एक भिडियोमा उनले कावासाकी निन्जा एच टु बाट पहिलोपटक अन्तरराष्ट्रिय भ्रमणका लागि नेपाल जान लागेको बताएका थिए । उनको सोही मोटरसाइकल दुर्घटनामा परेको थियो ।