काठमाडौं । महोत्तरीको पररिया घटनाका विषयमा ८ बुँदे सहमति भएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय, महोत्तरीले स्थानीयहरूको रोहबरमा ८ बुँदे सहमति गरेको प्रमुख जिल्ला अधिकारी दीपकुमार पहाडीले जानकारी दिए।
छठ पर्वको अवसरमा भंगहा नगरपालिका ८ पररियामा हिन्दू बाहिनी सेना सम्राटले निकालेको कलश तथा झण्डा यात्राका क्रममा झडप हुँदा उक्त क्षेत्रमा तनाव उत्पन्न भएको थियो । झडपपछि महोत्तरी जिल्ला प्रशासनले स्थीतिलाई नियन्त्रण बाहिर जान नदिन भन्दै कर्फ्यु आदेश जारी गरेको थियो ।
सहमतिअनुसार घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिका लागि सिफारिस गर्न टोली गठन गर्ने, घटनामा संग्लग्न दोषीहरू पत्ता लगाएर कानुनी कारबाही गर्ने, घाइतेको उपचारका लागि आवश्यक व्यवस्था गर्न गृह मन्त्रालयमार्फत नेपाल सरकारसँग अनुरोध गर्ने, घटनाको छानबिनका लागि उच्च स्ततरीय टोली गठन गर्न गृह मन्त्रालयसँग अनुरोध गर्ने लगायतका ८ बुँदे सहमति गरिएको हो।