काठमाडौं । उत्तर कोरियाले जापानमाथि अहिलेसम्मकै लामो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।
क्षेप्यास्त्र प्रशान्त महासागरमा खस्नुअघि आफ्नो क्षेत्रबाट उडेर गएको देखेपछि जापान सरकारले आफ्ना नागरिकहरूलाई चेतावनी दिएको थियो ।
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको देखिन्छ । कृपया भवनहरू वा अन्डरग्राउन्ड खाली गर्नुहोस्, जापान सरकारले स्थानीय समयअनुसार ७ः३० मा जारी गरेको दुर्लभ चेतावनीमा भन्यो ।
अधिकारीहरूले जापानबाट करिब तीन हजार किलोमिटरभित्र प्रशान्त महासागरमा खसेको र यससँग सम्बन्धित कुनै क्षतिको जानकारी नआएको बताएका छन् । टोक्योले उक्त क्षेप्यास्त्रले चार हजार छ सय किलोमिटर दूरी पार गरेको र यो अहिलेसम्मकै लामो दूरी हुनसक्ने बताएको छ ।
उत्तर कोरियाले पाँच वर्षयता पहिलो पटक मंगलबार जापानमाथि क्षेप्यास्त्र प्रहार गरेको हो । पछिल्लो पटक सन् २०१७ मा प्रहार गरेको थियो ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक र आणविक हतियारहरू परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर, उत्तर कोरियाले उल्लङ्घन गर्दै आएको छ ।