• मंसिर १२ २०८१, बुधबार

मगर समुदायको ‘झाँक्री मेला’को विशेष प्रदर्शन

आश्विन ७ २०७९, शुक्रबार

काठमाडौं । मगर भाषाको वृत्त चित्र ‘झाँक्री मेला’को विशेष प्रदर्शन गरिएको छ । नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदर्शन गरिएको वृत्त चित्र प्रदर्शनी समारोहमा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगर प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने नेपाल मगर संघका पूर्वअध्यक्ष बमकुमारी बुढामगर विशिष्ट अतिथिको रुपमा उपस्थित थिइन् ।

कार्यक्रममा मगर संघका संरक्षक गौबहादुर आलेमगर र सल्लाहकार दिलबहादुर थापामगर तथा सो संस्थाको भातृ संस्थाको रुपमा आवद्ध संस्थाका सदस्यहरुको पनि उपस्थिति थियो । वृत्त चित्र प्रदर्शनी समारोहमा उपस्थितलाई भुमे समाजका अध्यक्ष हर्कबहादुर घर्तीमगरले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए । वृत्त चित्रका बारेमा लेखक संघका अध्यक्ष डा.विष्णु सिंजालीमगरले प्रकाश पारेका थिए ।

साथै मगर समुदायको इतिहास र झाँक्री मेलाको बारेमा मगर संस्कृति संरक्षणका अगुवा बमकुमारी बुढामगरले व्याख्या गरेर सुनाइन् । उनले झाँक्री मेलाको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । सो अवसरमा साँस्कृतिक संस्थान नाचघरका अध्यक्ष प्रेम अधिकारीले मगरहरुको संस्कृति लोप हुन नहुने भन्दै यसका लागि मगरहरु नै लाग्नु पर्नेमा जोड दिए ।

अर्का अतिथि गोकुल घर्तीमगरले हाल युनेस्कोमा मगर समुदायको पूर्वको हुर्रा, पश्चिमको पैंसेरु र सोरठी गरी ३ वटा डकुमेन्ट्री उपलब्ध गराइएको जानकारी दिए ।
कार्यक्रममा मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले सो डकुमेन्ट्री निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान पत्रद्वारा सम्मान गरे । सो कार्यक्रममा कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।