हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन प्रतिपदासम्म सोह्र दिनको तिथिमा गरिने श्राद्व्रलाई सोह्र पितृ पक्षमा गरिने सोह्र श्राद्ध भन्ने गरिन्छ । यो सोह्र दिनको पक्षलाई शास्त्रले पितृपक्षको रुपमा लिएको छ । हरेक वर्ष आफ्ना आमा बुवा दिवंगत भएको तिथिमा गरिने वार्षिक श्राद्धलाई वर्षको एकपटक तिथि अनुसार गरिने श्राद्धलाई एकोदृष्टि श्राद्ध भनिन्छ भने पितृपक्षमा गरिने पितृ पक्षमा गरिने सोह्र श्राद्धलाई सोह्र श्रद्ध्र भनिन्छ । कात्याथान स्मृतिमा पितृ पक्षमा गरिने सोह्र श्राद्ध वा पितृ यज्ञ स्यातः भनेर श्राद्धलाई पितृ यज्ञ भनेको छ । त्यस्तै भविष्य पुराणमा देश काल पात्रमा श्रद्धाले विधिपूर्वक पितृले पाओस् भनि पुरेत वा ब्राहमणलाई दान दिनु नै श्राद्ध भनिएको छ । आफ्ना आमबुवाले जन्म दिई लालन पालन गरी हुर्काई बढाई सक्षम बनाएर राम्रो संस्कार दिने हुनाले नै छोराहरु आमाबुवाको ऋणि हुने हो । छोराहरुले यो ऋण तिर्नुपर्छ भनी शास्त्रमा पनि भनेको छ । त्यसैले आफू सक्षम भएपछि छोराहरुले आफ्ना आमाबाबुलाई सेवा गर्नु पर्छ । अन्तिम अवस्थासम्म उनीहरुको लालनपालन सेवा सुरक्षा गरिरहनु पर्छ । अनि मृत्यु पश्चात् उनीहरुको काजक्रिया कर्मकाण्ड सकिएपछि हरेक वर्षमा दिवंगत भएको तिथिमा श्राद्ध गरेर पितृ ऋण तिर्नुपर्छ ।
छोराहरुले आफ्ना आमाबुवाको सम्झनामा हरेक वर्ष श्राद्ध गर्दा श्रद्धापूर्वक गर्नुपर्छ भनि शास्त्रमा भनेको छ । यदि त्यहाँ श्रद्धा नभई नाम मात्रको कामकाज अर्थात् झारा टराई मात्र भयो भने त्यस्तो श्राद्धको कुनै अर्थ रहँदैन । श्रद्धापूर्वक गरिएको श्राद्धमा पितृहरु आएर अर्पण गरेका खानेकुरा र पिण्ड ग्रहण गरि आफ्ना सन्ततीलाई आशिर्वाद दिन्छन् । यदि विश्वासै नगरी अर्थात् मरिसकेका पनि आउँछन र ? भनि श्राद्ध गरेन भने त्यस्ताका घरमा तिथिमा दिन पितृहरु आउँदा श्राद्ध गर्न लागेको नदेखि निरास भई लामो सुस्केरा हाली पितृ फर्किए भने पितृले हालेको सुस्केराले उसका छोराछोरी सन्ततिको पनि शोषण हुन्छ रे अर्थात् उनीहरु निर्धक भएर जान्छन् अनि छोराछोरीहरु पनि सुकेर जान्छन् भनि शास्त्रमा उल्लेख गरेको छ ।
यसै सन्दर्भमा एउटा कार्य यहाँ उल्लेख गर्न चाहन्छु । एक पटक एकजना ब्राहणले आफ्नो पिताको श्राद्ध गर्न केही नभई दुःख मानिरह्यो । आफ्नो पिताको श्राद्ध गर्ने तिथि आइपुग्यो । तर उसको घरमा केही थिएन । न पैसा न कुनै सामग्री, अब के गर्ने होला ? काम पनि गर्न नपाइएको समय आफैलाई खान पनि केही नभएको अवस्था । एक किसिमले त्यो ब्राहण भोकै बस्नु पर्ने अवस्था भैसकेको थियो । यस्तो अवस्थामा उसले कसरी आफ्नो पिताको श्राद्ध गर्ने ? केही सिप नलागी त्यस ब्राह्मणले घरमा बाँकी रहेको अलिकता खुर्सानी मात्र दिएर श्राद्ध ग्यो । उसले यसरी दान दिएको खुर्सानी पितृलोकमा पुग्छ । त्यहाँ भएका पितृहरु जिल्ल पर्छन् । यो के दान दिएर पठाएको भनी कसैले पनि यसरी खुर्सानी मात्र दान दिएर नपठाउने भएकाले पितृहरुमा के गरौँ के गरौँ भएछ । यही खुर्सानी भए पनि खानुपर्ला भनी पितृहरुले एकएक टुक्रा बाँडेर खान्छन् । अनि ती पितृहरुले बिचार गर्छन् कि पक्कै पनि यो दान दिने छोरालाई धेरै दुःख भइरहेको होला ।
त्यसैले यस्तो खुर्सानी मात्र भए पनि दान दिई पठाएको हुनुपर्छ भन्ने ठानेर पितृहरु सबैले मिलेर उसलाई आशिर्वाद दिन्छन् ।
पितृहरुको आशिर्वादको फलस्वरुप त्यो ब्राहमण दिन प्रतिदिन धनि हुन थाल्यो । जे काम गरे पनि सफलता मिल्दै गयो । अर्को वर्ष फेरि बावुको श्राद्ध गर्ने तिथि आइपर्यो । तर त्यो ब्राहमणले विधिपूर्वक श्राद्ध नगरी पोहरै पनि खुर्सानी मात्र दान गरिएको त हो नि भन्दै यस वर्ष पनि खुर्सानी मात्र दान दिन्छ । जसले गर्दा त्यो ब्राहमण जसरी धनी भएको थियो त्यसरी नै दिन प्रतिदिन दरिद्र हुँदै जान्छ ।
पितृको आशिर्वादबाट धनी भएको त्यो ब्राहण फेरि पितृकै श्रापले गरिब भयो । त्यसैले पितृको कार्यमा जथाभावी गर्नु हुँदैन । तर्क गर्नेहरु श्राद्धमा दान गरेको पिण्ड पितृहरुले कसरी प्राप्त गरेर खान्छन् ? त्यो त यहीँ रहिरहेको हुन्छ भनि भन्दछन् । पिण्ड त्यतिकै रहिरहने भएकोले पितृले खाँदैन भनि धेरैलाई पर्नसक्छ ।
त्यो कुरा नबुझेकोले पनि हुन् सक्छ । निणर्यसिन्धुमा माद्री वृहद धर्मशास्त्रमा यस्तो उल्लेख गरिएको छ । नाम गोत्र, मन्त्र आदी सहयोगमा परलोकमा छोराहरुले श्रद्धा भक्तिले विकासपूर्वक अर्पण गरेको पिण्ड सबै पितृ देवताले व्यवस्था गरेर जुन योनी प्राप्त भइरहेको छ । त्यही योनीले खान हुने वस्तुमा परिणत गरेर पितृहरुले पाई पितृहरुलाई तृप्त गरीदिन्छ ।
जस्तै कि आफूले गरेको धर्मकर्मको पून्यले बाबु देवयोनीमा पुगेको भए दान दिएको चिज खानी कुरा अमृतको रुपमा परिणत भएर आउँछ । गन्धर्व योनीमा गएको भए उसले भोग गर्न चाहेको चिजमा परिणत हुन्छ । प्रभु योनीमा गएको भए त्यस्तै रुपमा परिणत हुन्छ । त्यस्तै नागयोनीमा गएको भए हावाको रुपमा पुग्छ रे । यक्षयोनीमा जन्म भएको हो भने उसैलाई मन पर्ने पिण्ड हुने खानाको रुपमा पुग्छ ।
त्यसरी नै दानव योनीमा जन्म भएको छ भने रक्सीको रुपमा र प्रेतयोनीमा भए रगत र पानी भएर पुग्छ रे । मानिसको योनी प्राप्त भएको हो भने उसलाई विभिन्न किसिमको खाने कुराको रुपमा पाउँछ रे । यो कुरा धर्म सिन्धु ग्रन्थमा पनि उल्लेख गरिएको छ । धर्म शास्त्रलाई नै मानिसहरुले विश्वास गरेर प्रमाण मान्दै आइरहेका छन् । त्यसै अनुरुप सबैले आफ्नो कर्तव्य पनि पुरा गर्नु पर्छ ।
यसैले धर्मशास्त्रमा पनि परिभाषा गरिराखेकोले श्राद्ध गर्दा अत्यन्तै श्रद्धापूर्वक गर्नुपर्छ । श्रद्धापूर्वक गरेको श्राद्धले मात्र पितृ र श्राद्धगर्ने दुवैको कल्याण हुन्छ । देवताहरुलाई भाव भए पुग्छ । पितृहरुलाई भुद मन्त्र र भुद वाक्य भए पुग्छ । त्यसैले भुद मन्त्र पढेर श्राद्ध गर्नु पर्छ भनिएको हो । धर्मशास्त्रमा सूर्य स्वरुप प्रकाश भएका पितृका आकृति सम्झन र ध्यान गर भनिएको छ । यसरी ध्यान गर्दा पितृ त्यही रुपमा जान्छन् भनि राखेको छ ।
त्यसैले मातृ देवो भव, पितृ देवो भव भनि धर्मशास्त्रमा उल्लेख गरिराखेको हो । श्राद्ध गर्दा हे देव स्वरूप पितृ मैले यो अमृत समानको पिण्ड अर्पण गरेको छु । अक्षय तृप्ति होस् भनी अर्पण गर्नुपर्छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदाका दिनदेखि आश्विन शुक्ल प्रतिपदाका दिनसम्म सोह्र दिनभित्र गरिने श्राद्धलाई नै सोह्र श्राद्ध भनिएको हो । यो सोह्र दिनभित्र तिथि अनुसार दिवंगत आफ्ना आमाबुबाको श्राद्ध गरिएको हो ।
हुन त हरेक वर्ष आफ्ना आमाबुबाका दिवंगत भएको तिथिमा श्रातृ गरिन्छ तर यो सोह्र श्राद्धको समय पितृपक्ष भएकोले यो समयमा पनि श्राद्ध गरिँदै आएको छ । दशैँ अघि पर्ने यो सोह्र श्राद्धमा पितृहरुलाई पनि चाड अघि नै बोलाएर खुवाउनु पर्छ भन्ने भावले श्राद्ध गरिने हो, भनिन्छ ।
त्यस्तै कुनै पनि शुम कर्म, विवाह, ब्रतबन्ध, न्वारन, पास्नी, पुराण सप्ताह आदी गर्नु अघि पनि पितृलाई सम्मानपूर्वक श्राद्ध गरिन्छ । यस्तो श्राद्धलाई बृद्धि श्राद्ध भनिन्छ । सन्ततिहरुले शुभकर्म गर्दा आफ्ना पितृलाई पनि सम्मानपूर्वक बोलाएर खुवाउनु पर्छ ।
पितृले पनि आफ्ना सन्तानहरुबाट आशा गरेको हुन्छ भन्ने मान्यता रही आएको छ । पितृ भनेको मानिसहरुको मात्र होइन देवता, दैत्य, गन्धर्व राक्षस, नाग र किन्नरमा पनि हुन्छ । त्यसै भएर श्राद्ध गर्ने परम्परा विभिन्न जाति वर्ग, धर्म ,संस्कृति र परम्परा अनुसार गरिने हो । क्षेत्री बाहुनले अझै विधि अनुसार गर्दछन् भने नेवारहरुले पनि आफ्नो विधि अनुसार श्राद्ध गर्छन् ।
नेवारहरुले श्राद्ध गर्दा छिमेकी, चिनेका जति सबैलाई र नचिनेका सकल मानिसहरुको पनि उद्धार होस् भनी पिण्ड अर्पण गर्ने चलन छ । यतिसम्म कि विकलाई पनि पिण्ड अर्पण गर्छन् । सबैको कल्याण होस् सबैको शुभमंगल होस् । सम्पूर्ण जगतकै शुभ होस्, मोक्ष प्राप्त होस् भन्ने धर्म चेतना भएको नेवारी संस्कृति र संस्कार हो श्राद्ध ।