काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्दा एकतिहाई महिला प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।
संसदीय समितिको निर्देशन अनुसार आयोगले राजनीतिक दललाई प्रत्यक्षतर्फ एक तिहाई महिला उम्मेदवार बनाउन पत्राचार गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्वाचन आयोगलाई यसअघि प्रत्यक्षतर्फ पनि एक तिहाई महिला उम्मेदवार बनाउने गरी दलहरूलाई निर्देशन दिन आयोगलाई पत्राचार गरेको थियो ।
‘संसदमा समानुपातिकतर्फबाट प्रतिनिधित्व गराउने चलन छ । अब प्रत्यक्षतर्फ पनि एक तिहाई महिला उम्मेदवार बनाउन आयोगले निर्देशन दिनुपर्यो भनेर हामीलाई संसदीय समितिले निर्देशन दिएको थियो । आयोगले संसदीय समितिको निर्देशन कार्यान्वयन गरेको हो,’ प्रमुख आयुक्त थपलियाले भने ।
आयोगले दलहरूलाई गरेको पत्राचारमा संविधानको धारा ३८ को उपधारा (४), धारा ४२ र धारा ४७ को मर्म बमोजिम प्रत्यक्षतर्फ कम्तीमा एक तिहाई महिला सुनिश्चित हुनेगरी मनोनयन गर्न राजनीतिक दललाई निर्देशन दिएको हो ।
प्रत्यक्षतर्फ एक तिहाई महिला सुनिश्चतताका लागि कुनै कानुन नभए पनि संसदीय समितिको निर्देशन आयोगले पालना गरेको थपलियाले बताए ।
‘प्रत्यक्षतर्फ एक तिहाई महिलाको मनोनयन हुनैपर्ने कानुन बनाएको भए सजिलो हुन्थ्यो । उहाँहरू पनि कानुन त बनाउनु हुँदैन, निर्देशन मात्रै दिनुहुन्छ । हामी पनि के कम निर्देशन दियौँ,’ थपलियाले भने ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्र छन् भने प्रदेशसभामा ३ सय ३० क्षेत्र छन् ।
आयोगको निर्देशन अनुसार दलहरूले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५५ जना महिलालाई उम्मेदवार बनाउनुपर्नेछ भने प्रदेशसभामा १ सय १० जना महिलालाई उम्मेदवार बनाउनु पर्नेछ ।