• फाल्गुन २७ २०८२, बुधबार

बङ्लादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार

भाद्र ३० २०७९, बिहीबार

ढाका ।  बाढी पहिरोबाट प्रभावित पाकिस्तानले बङ्लादेशले दिएको सहयोग अस्वीकार गरेको छ ।

मानवीय सहायता गर्नु छिमेकी मुलुकको हैसियतले कर्तव्य हुने ठानेर बङ्लादेशले बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीहरुको अभाव खेपिरहेको पाकिस्तानलाई एक करोड ४० लाख टाका राहत सहयोग रकम दिने  प्रस्ताव गरेको  बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाले घोषणा गरेकी थिइन् ।

पाकिस्तानले भने सो सहयोग स्वीकार नगर्ने जवाफ दिदैं बङ्लादेशको यस्तो सहयोग लिँदा विश्व समुदायमा आफ्नो देशको छविमा नकारात्मक असर पर्ने बताएको छ ।

बङ्लादेशको प्रकोप व्यवस्थापन तथा राहत मन्त्रालयले १० टन बिस्कुट, १० टन सुख्खा केक, एक लाख पानी शुद्धिकरण गर्ने ट्यावलेट, ५० हजार सलाईन, पाँच हजार मच्छेडदानी, दुई हजार ब्लाङ्केट र दुई हजार पाल पाकिस्तानलाई सहयोग स्वरुप दिने निर्णय गरेको थियो ।

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर नयाँ देश बनेको बङ्लादेशले विगतमा नमिठा सम्बन्ध र घटना भएपनि सङ्कट परेका बेला एकले अर्कोलाई सहयोग गर्नुपर्ने ठानेर पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको बङ्लादेशी अधिकारीहरूको भनाइ छ ।