• आश्विन १५ २०८१, मंगलवार

दिवंगत ब्रिटिस महारानीको तर्फबाट मक्कामा तिर्थयात्रा गरेको दावी गर्ने व्यक्ति पक्राउ, के हो खास कुरो ?

भाद्र २८ २०७९, मंगलवार

काठमाडौं । साउदी अधिकारीहरूले ब्रिटिस महारानी एलिजाबेथद्वितीयको तर्फबाट मुस्लिमहरुको पवित्र धार्मिकस्थल मक्कामा उमरा तीर्थयात्रा गरेको दावी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । यमनका ती नागरिकले सोमबार मक्कास्थिति मुस्लिमहरुको सबैभन्दा पवित्रस्थल ‘ग्य्राण्ड मस्क’बाट एक भिडियो पोष्ट गरेका थिए ।

गैरमुस्लिमहरूलाई निषेधित उक्त धार्मिकस्थलमा ती व्यक्ति ‘एलिजावेथ द्वितियाको आत्माको लागि उमराहमा रहेको र हामी भगवानसँग रानीलाई स्वर्गमा स्वीकार्न अनुरोध गर्दैछौं’ लेखिएको ब्यानर बोकेको देखिन्छ । उक्त भिडियो क्लिप साउदी सोसल मिडियामा व्यापक रूपमा शेयर भएको थियो । साउदी ट्विटर प्रयोगकर्ताहरुले उनको पक्राउको माग गरेका थिए ।

साउदी अरेबियाले मक्का जाने तीर्थयात्रीहरूलाई ब्यानर बोक्न वा नारा लगाउन निषेध गरेको छ । मृतक मुस्लिमको तर्फबाट उमराह गर्न सकिने भए पनि, दिवंगत ब्रिटिस रानीजस्ता गैरमुस्लिमको नाममा भने उमराह गर्न बन्देज छ ।

ग्य्राण्ड मस्कमा तैनाथ सुरक्षा बलले ‘उमराहको नियम तथा निर्देशन उलंघन गर्दै मस्जिदभित्र ब्यानर बोकेका देखिएका यमनी बासिन्दालाई गिरफ्तार गरेको’ सरकारी मिडियामा प्रसारित विज्ञप्तिमा भनिएको छ ।

उमरा जुनसुकै समय गर्न सकिने तीर्थयात्रा हो जुन वर्षको निश्चित समय गरिने हज भन्दा फरक हुन्छ ।